रुकुम पश्चिममा पनि ११ औँ उद्योग दिवस मनाएको छ । ‘‘औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’’ भने मूल नाराका साथ जिल्लाका उद्योग व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम गरी ११ औँ उद्योग दिवस मनाएको हो । अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न ठाउँमा उद्योग व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा उद्योग व्यवसायीहरूले उद्योग सञ्चालन गर्दा आफूहरूले भोग्नुपरेका समस्या, आवश्यकता, कार्यालयको तर्फबाट हुने सहयोगको अपेक्षा लगायतका विषयमा भनाई राखेका थिए । त्यस्तै कार्यालयले हरेक वर्ष सिप मूलक तालिम सञ्चालन गरे पनि त्यसको उपलब्धि नदेखिने गरेको पनि सहभागीहरूले गुनासो गरेका थिए । आउने दिनमा त्यस्ता कार्यक्रम गर्दा चनाखो भएर उपलब्धि मूलक बनाउनुपर्ने र छोटो अवधिका भन्दा लामो अवधिका तालिम सञ्चालन गर्नुपर्ने माग राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रेमप्रकाश केसीले सहभागीहरूलाई कार्यालयले चालु आर्थिक वर्षमा गरेका मुख्य कामहरू, उद्योग वाणिज्य सम्बन्धी कानुनी व्यवस्था, उद्योग नवीकरण प्रक्रिया लगायतका विषयमा जानकारी बनाउनुभएको थियो । त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देवबहादुर विकले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जिल्लामा राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उद्योग व्यवसायीलाई सरकारी अनुदानको भर नपरी आफूले सकेको लगानी गरेर मिहिनेत गरी सफल व्यवसायी बन्न पनि उहाँले आग्रह गर्नुभयो । व्यवसायलाई परिमाणमुखी बनाउनको लागि राज्यको अनुदानको पर्खाइमा पर्न नहुने पनि उहाँको भनाई थियो ।
जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख विकको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्का, उपाध्यक्ष रविद्रकुमार विष्ट, समन्वय अधिकारी मेघराज सोनी, जिल्लास्थित उद्योग व्यवसायी,उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा कार्यरत कर्मचारी अधिकृत छैटौँ मानबहादुर खत्रीले गर्नुभएको थियो ।





-1759842583.jpg)