रुकुम पश्चिममा साढे ८ हजार भूकम्प प्रभावितको नाम अनुमोदन भएको छ । सोमबारको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले २०८० कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट रुकुम पश्चिममा प्रभावित भएका मध्ये ८ हजार ५ सय ७६ लाभग्राहीको नाम अनुमोदन गरेको हो ।
भूकम्पबाट पूर्ण वा आंशिक रूपमा अति भएका निजी आवासको विस्तृत क्षति आँकलनका लागि लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएका प्राविधिकहरूबाट विस्तृत क्षति आँकलनको कार्य सम्पन्न भई विपद् सूचना प्रणालीमा प्रविष्टि भएका जिल्लाका ४ पालिकाका उक्त लाभान्वितको सङ्ख्या अनुमोदन भएको हो ।
आठबिसकोट नगरपालिकाका ४ सय ४७ जना, मुसिकोट नगरपालिकाका ६ सय २७ जना, सानीभेरी गाउँपालिका ४ हजार १ सय १६ जना र त्रिवेणी गाउँपालिका ३ हजार ३ सय ८६ जनालाई प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको अध्यक्षतामा बसेको विपत् व्यवस्थापन समिति बैठकले अनुमोदन गरेको हो ।
उक्त लाभग्राही सङ्ख्या सम्बन्धित स्थानीय विपद् व्यवस्थापन समितिबाट विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ को दफा ७ बमोजिम अनुमोदन भई विपद् सूचना प्रणालीमा प्रविष्टि सहित पेस हुन आएकामा उक्त लाभग्राहीहरूलाई सोही कार्यविधिको दफा अनुसार कायम गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । चौरजहारी नगरपालिका र बाँफिकोट गाउँपालिकाका भने कुनै पनि लाभग्राही सिफारिसमा परेका छैनन् ।
त्यस्तै बैठकले जाडोमा हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने निर्णय गरेको छ । जसका लागि जिल्लाका स्थानीय तह, स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकायहरू, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था लगायतका निकायहरू सम्भावित जोखिमलाई न्यूनीकरण गर्न पूर्व तयारीमा जुट्ने निर्णय भएको छ ।
सबै स्थानीय तहले चिसो तथा हिमपातबाट प्रभावित हुनसक्ने विपन्न समुदाय एवम् बस्तीहरू पहिचान गर्ने, उनीहरूका लागि अत्यावश्यक पर्ने राहत सामग्रीहरूको व्यवस्थापन गर्ने, चिसो र हिमपातबाट बच्न विस्थापित घरपरिवार तथा जोखिमयुक्त बस्तीहरूको तत्काल व्यवस्थापन स्थानीय तहले मिलाउने र जोखिमयुक्त बस्तीहरूको लागि आवश्यक पर्ने राहत सामग्रीहरू स्थानीय तहको समन्वयमा जिल्लामा क्रियाशील सङ्घ संस्थाहरू समेतले उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ ।
त्यस्तै मध्यपहाडी लोकमार्गको साँख–किटनी र आठविसकोट नगरपालिकाको झारमारे–स्यालाखदी सम्मको सडक खण्ड हिमपातको कारण सडक अवरुद्ध हुनसक्ने भएकोले सवारी आवागमनलाई सहज बनाउन सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्ने र चिसो तथा हिमपातबाट सुरक्षित रहनका लागि सचेतनामूलक जानकारी स्थानीय सञ्चार माध्यम मार्फत प्रसारण तथा प्रकाशनको व्यवस्था मिलाउने समेत बैठकले निर्णय गरेको छ ।





-1759842583.jpg)