Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा संचालित तीन दिने व्यावसायिक विकास योजना सम्बन्धी तालिम सम्पन्न

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सञ्चालित तीन दिने व्यावसायिक विकास योजना सम्बन्धी तालीम सम्पन्न भएको छ । मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) अन्तर्गत सञ्चालित राइज–अप परियोजनाद्वारा सञ्चालित उक्त तालिम आज सकिएको हो । अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको परिवारका सदस्यहरूलाई लक्षित गरी आर्थिक रूपमा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको राईज-अप परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्यमशीलता विकास तथा व्यावसायिक योजना निर्माण सम्बन्धी ज्ञान, सीप र व्यवहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा २८ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण  कृषि विकास कार्यालय रुकुम पश्चिमका प्रमुख भरतबहादुर बस्नेत, बाली संरक्षण अधिकृत अग्रिम धिताल र  मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) का विपद् जोखिम न्यूनीकरण संयोजक विमल विकले गर्नुभएको थियो ।

तालिममा उद्यमशीलताको अवधारणा, व्यवसाय पहिचान र छनोट, व्यावसायिक योजना निर्माण, लागत तथा नाफा–नोक्सान विश्लेषण, बजारीकरण रणनीति, स्थानीय स्रोत साधनको उपयोग तथा व्यवसाय सञ्चालनमा आउन सक्ने जोखिम व्यवस्थापन जस्ता विषयवस्तुहरू समेटिएको परियोजना अधिकृत जैसीले  जानकारी दिनुभयो । 

सहभागीहरूले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै साना तथा मझौला व्यवसाय सुरु गर्न आत्मविश्वास बढेको बताएका छन् । आयोजकले तालिममा सहभागीहरूको जीविकोपार्जन सुधार गर्दै दीर्घकालीन आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास लिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update