Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा सिप विकास तालिम सञ्चालन हुने

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले विभिन्न ११ शीर्षकमा सिप विकास सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत सिप विकास तालिम अन्तर्गत ११ शीर्षकमा तालिम सञ्चालन गर्न लागेको हो । सिप विकास तालिम जिल्लाका ६ वटै स्थानीय तहहरुमा सञ्चालन गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले जनाएको छ । सो तालिमबाट १२० जनाले सिप विकासको तालिम लिनेछन् । 

तालिममा १६ वर्ष पुरा भई ५० वर्ष ननाघेका इच्छुक व्यक्तिले मंसिर २१ गतेसम्म कार्यालय समय भित्र सम्बन्धित स्थानीय तहको उद्योग विकास शाखा तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा आवेदन दिन भनिएको छ । सिप विकास तालिम अन्तर्गत मुसिकोट नगरपालिका वडा नम्बर ४ चाँपामा सालको पातका दुना टपरी निर्माण, वडा नम्बर ३ पिपलनेटामा सिलाइ कटाइ तालिम, बाँफिकोट गाउँपालिका २ पिपलमा मुढा बुनाइ तालिम वडा नम्बर १ लागिममा बाँसको मुढा बुनाइ तालिम तथा हस्तकला तालिम छनोटमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रेमप्रकाश केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आठविसकोट नगरपालिका वडा नम्बर १३ घेत्मा होजियारी तालिम, वडा नम्बर ७ को दाँजेमा मुढा बुनाइ तालिम सञ्चालन हुने छ । त्यस्तै चौरजहारी नगरपालिकामा मिनी ट्याक्टर मर्मत, सानीभेरी गाउँपालिकामा बाँसका सामग्री निर्माण, दालमोट आलु चिप्स बनाउने तालिम र त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा मिनी ट्याक्टर मर्मत तथा वडा नम्बर १० को पेदीमा बाँसका सामग्री निर्माण तालिम छनोटमा परेको कार्यालयले जनाएको छ । कार्यालयले हरेक वर्ष जिल्लामा सिप विकास तालिम सञ्चालन गर्दै आएको छ । 

 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update