रुकुम पश्चिमको मुसिकोट नगरपालिका अन्तर्गत माछिमी गाराघाट सडक खण्ड आजदेखि बन्द हुने भएको छ । आज राती ८ बजे देखि पुस ७ गते सम्म रातको समयमा उक्त सडक खण्ड बन्द हुने भएको हो । मुसिकोट नगरपालिका वडा नम्बर २ को भुरसुली र बाँफिकोट गाउँपालिका वडा नम्बर १० को पुर्णठाटीलाई जोड्ने सानीभेरी नदि माथी झुलुङ्गे पुल निर्माणको काम सुरु भएको हुँदा सडक बन्द गरेको प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिनुभयो ।
पुल निर्माणको काम गर्दा ढुङ्गा र पहिरो खस्ने जोखिम भएको कारण खडक बन्द गरिएको उहाँले बताउनुभयो । पुस ७ गते सम्मको लागि राती ८ बाट विहान ५ बजे सम्म सडक बन्द हुनेछ । उक्त स्थानमा संघीय सरकारको दुई करोड एक लाख ९९ हजार बजेट खर्चिएर तीन सय २६ मिटर लामो पुल निर्माण हुन लागेको छ । आगामी चैत्र महिना सम्म पुल निर्माणको काम सम्पन्न गर्ने गरी शैलेन्द्र निर्माण सेवाले पुल निर्माणको जिम्मा लिएको छ । यस विषयमा केही दिन अघिनै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले माछिमी गाराघाट सडक खण्ड बन्द हुने सम्बन्धी सूचनामा मार्फत जानकारी गराइसकेकाे छ ।





-1759842583.jpg)