Kakhara सबैको खबर सम्पूर्ण खबर
यमुना नन्द नमुना माविमा निबन्ध प्रतियोगिता सम्पन्न 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको यमुना नन्द नमुना मावि शेरिगाउँमा निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । 

विद्यालय निमावि तह स्थापनाकालका संस्थापक विद्यालय व्यवस्थापन समितिका सदस्य पुरुषोत्तम गौतमको पहिलो वार्षिक स्मृति दिवसको अवसरमा मावि स्तरीय व्यक्तित्व विकास र शिक्षामा अभिभावकको भूमिको विषयक निबन्ध प्रतियोगिता सञ्चालन गरिएको हो । 

जसमा २७ जना विद्यार्थीहरूले प्रतिस्पर्धा गरेकामा कक्षा १२ की रुपा विक प्रथम, कक्षा ११ का सुप्रिम ओली द्वितीय र कक्षा १२ की अणु खड्का तृतीय भएको विद्यालयका सहायक प्रधानाध्यापक गणेश केसीले जानकारी दिनुभयो । 

प्रथम, द्वितीय र तृतीयले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेको उहाँले बताउनुभयो । विद्यालयमा रहेको ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँको उत्पादन, शिक्षा, रोजगारी र प्रविधि उन्नयन कोषको व्याजबाट खर्च व्यवस्थापन गरी विद्यालयले कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा गरिब तथा जेहनदार विद्यार्थी उत्थान अक्षयकोष र उत्पादन, शिक्षा, रोजगारी र प्रविधि उन्नयन संयुक्त कोषका संस्थापक ज्ञानुकुमार शर्मा, आमा विष्णुकुमारी शर्मा, श्रीमती विजयाकुमारी शर्मा, छोरी सुलोचना शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश अधिकारी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष भिमबहादुर खड्का, विव्यस र शिअसंघका पदाधिकारी तथा सदस्य, पूर्व प्रअ दामोदर पाैडेल, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सञ्चालन सहायक प्रअ गणेश केसीले गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले विभिन्न दुर्व्यसनीको असर र यसबाट बच्न अभिभावकहरूको भूमिका विषयक सन्देशमूलक नाटक समेत प्रस्तुत गरिएको थियो । उक्त विद्यार्थीहरूलाई अक्षयकोषका संस्थापक ज्ञानुकुमार शर्माले प्रोत्साहन स्वरूप १५ सय रुपैयाँ समेत प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update