Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा झन्डै ३ सय मतदाताको नाम हटाइयो

रुकुम पश्चिममा झन्डै ३ सय मतदाताको नाम हटाइएको छ । मृत्यु भएका, दोहोरो परेका र नागरिकता त्याग गरेका २ सय ९५ जना मतदाताको नाम मतदाता नामावलीबाट हटाइएकाे जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत कुनै पनि मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन मंसिर २१ देखि २६ गतेसम्मको समय दिइएको थियो । साथै सोही अवधिमा कुनै पनि मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउन सूचना दिन भनिएको थियो । 

यसका लागि अनलाइन वा निर्वाचन कार्यालयमै निवेदन तथा सूचना दिन भनिएको थियो । सोही अनुसार २ सय ९५ जनाको नाम नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा अद्यावधिक भएको डाटा निर्वाचन आयोगमा पठाइसकिएको कार्यालयका कम्प्युटर अपरेटर जयराम केसीले जानकारी दिनुभयो । 

सानीभेरी गाउँपालिकाका ६७ जना, मुसिकोट नगरपालिकाका ७२ जना, बाँफिकोट गाउँपालिकाका ५८ जना, त्रिवेणी गाउँपालिकाका २८ जना, चौरजहारी नगरपालिकाका ३८ जना र आठबिसकोट नगरपालिकाका ६२ जनाको नाम हटाइएको उहाँले बताउनुभयो । 

जिल्लाको अन्तिम नामावली तयार भई नसकेको कार्यालयले जनाएको छ । पछिल्लो पटक थपिएका र हटाइएको विवरण आयोगमा पठाइसकेको र आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि जिल्लाको अन्तिम मतदाता सङ्ख्या यकिन हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख मोहनलाल केसीले बताउनुभयो । 

जिल्लामा पछिल्लो पटक दिइएको समयमा २८ सय ३७ जना नयाँ मतदाता थपिएका छन् । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका लागि सरकारले असोज १० देखि मंसिर ५ गतेसम्मको समय दिएको थियो । 

उक्त समयमा कार्यालयमै पुगेर नागरिकताबाट १२ सय ३८ जनाले नामावलीमा नाम दर्ता गरेकामा राष्ट्रिय परिचय पत्रका आधारमा घरमै बसिबसी वा कार्यालय नपुगी १५ सय ९९ जनाले नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयको भनाई छ । 

हाल सम्म जिल्लामा नयाँ थपिएका बाहेक कुल मतदाता सङ्ख्या १ लाख ४ हजार २ सय ३९ कायम छ । जसमा पुरुष ५२ हजार ७ सय ८८ जना रहेका छन् भने महिला ५१ हजार ४ सय ५० तथा अन्य मतदाता १ जना रहेका छन् । नयाँ थपिएका र हटाइएका समेत मतदाता अनुसार अब जिल्लामा कति मतदाता कायम हुन्छन् भन्ने बारेमा भने केही दिनमा थाहा हुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update