रुकुम पश्चिममा भूकम्पको विस्तृत क्षति आकलन तथा उत्थानशील पुनर्निर्माण सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम) को सभा हलमा आजबाट तालिम सुरु भएको हो ।
जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासमध्ये यसअघि विस्तृत क्षति आकलन हुनबाट छुटेका घरहरूको विस्तृत क्षति आकलन गर्न, पुनर्निर्माण सम्बन्धी गुनासो व्यवस्थापन गर्न र राष्ट्रिय भवन निर्माण संहिता अनुसार विपद् प्रतिरोधी भवन निर्माण गर्न जिल्लाका ६ वटै स्थानीय तहका प्राविधिकलाई सक्षम बनाई समयमै पुनर्निर्माण कार्य सम्पन्न गर्न सहजीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिनुभयो ।
तालिमको आयोजना प्राधिकरणले गरेको हो । उद्घाटन समारोह प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको अध्यक्षतामा भएको थियो । यसअघि जाजरकोट जिल्लाका ७ वटै स्थानीय तहलाई लक्षित गरी पौष ९ गतेदेखि ११ गतेसम्म तालिम आयोजना गरिएको थियो ।
तालिम पुस १५ गतेसम्म सञ्चालन हुनेछ । तालिम पश्चात् जाजरकोट भूकम्पपछिको निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यले गति लिने अपेक्षा गरिएको छ ।





-1759842583.jpg)