रुकुम पश्चिममा संक्रमणकालीन न्यायका सवालमा जिल्ला स्थित सरोकारवाला निकाय, राजनीतिक दल, शिक्षक, विद्यार्थी र पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा भएको छ । आज मुसिकोट नगरपालिका ५ सेरिगाउँमा जनयुद्धका क्रममा विद्रोही पक्ष र सरकार पक्षबाट भएका सहिद परिवार घाइते तथा बेपत्ता व्यक्तिको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । नेपाल पिस बिल्डिङ इनिसिएटिभको सहकार्यमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रमका सहभागीहरूले जनयुद्धका क्रममा सहिद भएका परिवार, घाइते तथा बेपत्ता पारिएका व्यक्तिहरूले न्याय नपाएको र अझै ती परिवारहरू न्यायको पर्खाइमा रहेको बताएका थिए । सहिद परिवार तथा घाइते भएकाहरूको लागि जिल्ला थुप्रै कार्यक्रम आए पनि खास व्यक्तिले लाभ लिन नसकेको उनीहरूको भनाइ थियो ।
द्वन्द्व पीडितको मुख्य आवश्यकता भनेको स्वास्थ्य, रोजगार, शिक्षा र मनोसामाजिक परामर्श भएको यतातर्फ राज्यले ध्यान दिनुपर्ने सहभागीहरूको भनाई थियो । त्यस्तै जिल्लामा द्वन्द्व पीडितको तथ्यांक समेत नभएको, द्वन्द्व पीडितको नाम आएको बजेट कार्यान्वयन हुन नसक्दा फिर्ता जाने गरेको, संघ संस्थाहरू पनि द्वन्द्व पीडितको लागि जिल्ला काम गर्छौ भनेर आउने खास उपलब्धि मूलक काम गर्न सकेको सहभागीहरूको गुनासो थियो ।
जनयुद्धका क्रममा भएका घाइते तथा सहिदका परिवारलाई मासिक २ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइरहेको गरेको मुसिकोट नगर उपप्रमुख विमलकुमार पुनले बताउनुभएको थियो । त्यस्तै नगरपालिकाले द्वन्द्व पीडितलाई प्राथमिकतामा राखेर अन्य कृषि सामग्री सहयोग, सीपमूलक तालिम पनि प्रदान गरिएको उहाँले बताउनुभयो ।
संक्रमणकालीन न्यायको लागि नीति, नियम निर्माण गर्नु सहज होस भनेर रुकुम पश्चिममा द्वन्द्व पीडितको समस्या, आवश्यकताका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नेपाल पिस बिल्डिङ इनिसिएटिभको कार्यक्रम संयोजक सुविन्द्र बाेगटी बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रमले संक्रमणकालीन न्यायको लागि नीति, नियम बनाउने सहयोग पुग्ने उहाँको विश्वास छ । कार्यक्रममा मुसिकोट नगरप्रमुख पुन, उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का, मुसिकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष धनबहादुर खड्का वसन्त, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता दलबहादुर खड्का, शिक्षक, विद्यार्थी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।





-1759842583.jpg)