आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिममा १ लाख ६ हजार बढी मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि मतदाताहरूको अन्तिम नामावली सार्वजनिक गरेपछि रुकुम पश्चिममा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा १ लाख ६ हजार ६ सय ६० मतदाताले भोट हाल्न पाउने छन् ।
यो संख्या २०७९ मा भएको चुनावको तुलनामा २ हजार ३ सय ८० ले बढी हो । उक्त निर्वाचनमा जिल्लाभरमा १ लाख ४ हजार २ सय ८० मतदाता थिए । आयोगबाट आगामी निर्वाचनका लागि १ लाख ६ हजार ६ सय ६० जना मतदाता कायम भएर आएको र त्यसमा पुरुष ५४ हजार २ सय ६३ तथा महिला मतदाताको संख्या ५२ हजार ३ सय ९६ र अन्य १ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका प्रमुख मोहनलाल केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो पटक खुलाइएको मतदाता नामावली दर्तामा जिल्लामा २ हजार ३ सय ८० जना मतदाता थप भएका थिए । असोज १० गतेबाट मंसिर ५ गतेसम्मको समयमा जिल्ला भरमा सबैभन्दा बढी मुसिकोट नगरपालिकाबाट ६ सय २२ मतदाता थपिएका थिए ।
त्यस्तै सानीभेरी गाउँपालिकाबाट ५ सय ३४, आठबिसकोट नगरपालिकाबाट ४ सय ३०, बाँफिकोट गाउँपालिकाबाट ३ सय ३०, त्रिवेणी गाउँपालिकाबाट २ सय ७० र सबैभन्दा कम चौरजहारी नगरपालिकाबाट १ सय ९४ जना मतदाता थपिएका हुन् ।
जिल्लामा नयाँ कायम भएका कुल मतदाता मध्ये सबैभन्दा बढी मतदाता जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकामै रहेका छन् । मुसिकोटमा कुल मतदाता संख्या २३ हजार ३ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसपछि आठबिसकोट नगरपालिकामा २१ हजार १ सय १० र चौरजहारी नगरपालिकामा १९ हजार १ सय ३५ जना मतदाता रहेका छन् । गाउँपालिका मध्य सानीभेरी गाउँपालिकाको मतदाता संख्या १४ हजार ८ सय ७६, त्रिवेणी गाउँपालिकाको १४ हजार ५ सय ६ र बाँफिकोट गाउँपालिकाको कुल मतदाता संख्या १४ हजार ३० जना रहेको छ ।
यसैबिच जिल्लाबाट यसअघि नै झन्डै २ हजार जना मतदाताको नाम हटाइएको थियो । मृत्यु भएका, दोहोरो परेका र नागरिकता त्याग गरेका १ हजार ९ सय ८८ जना मतदाताको नाम मतदाता नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयको भनाई छ ।
कार्यालयका अनुसार नामावली हटाइनेमा मृत्यु भएका १ हजार ८ सय २५, दोहोरो नामावली भएका १ सय ६० र नागरिकता रद्ध भएका ३ जना रहेको छन् । आर्थिक वर्ष २०८०/०८१ मा ३ सय २७, आर्थिक वर्ष २०८१/०८२ मा १ हजार १ सय ३८ जना, आर्थिक वर्ष २०८२/०८३ मा ५ सय २३ जना मतदाताको नामावली हटाइएको हो ।





-1759842583.jpg)