रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड त्रिवेणी माध्यमिक विद्यालय सिम्रतुले जितेको छ । वडा नम्बर २ सिम्रतुमा रहेको त्रिवेणी माध्यमिक विद्यालयले शिल्ड हात पारेको हो । पालिकाभित्रका ११ वटा विद्यालयले प्रतिस्पर्धा गरेकामा २७ स्वर्ण, १२ रजत र ७ कांस्य सहित ४६ पदक प्राप्त गरी त्रिवेणी मावि सिम्रुतु प्रथम भयो । त्यस्तै वडा नम्बर ९ नुवाकोटमा रहेको हिमालय जनता माध्यमिक विद्यालयले १४ स्वर्ण, ९ रजत र १० कांस्य गरी कुल ३३ पदक प्राप्त गरी दोस्रो स्थान हात पारेको त्रिवेणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मानबहादुर विश्वकर्माले जानकारी ।
उहाँका अनुसार वडा नम्बर १ रुँघा तलिगाउँमा रहेको दिव्य चक्षु मावि ५ स्वर्ण, ६ रजत र १२ कांस्य गरी कुल २३ पदक प्राप्त गरी तेस्रो भएको छ । त्यस्तैगरी वडा नम्बर ४ खुम्चेरीमा रहेको अन्धनाशक मावि चौथो, वडा नम्बर २ गैरिनेटामा रहको बाल शिक्षा मावि पाँचौँ र वडा नम्बर ७ मा रहेको साधारण मावि मुरुडाँडा छैटौँ हुँदा पाँच वटा माविले भने कुनै स्वर्ण पदक प्राप्त गर्न सकेनन् । चौथो राष्ट्रपति रनिङ शिल्ड जितेसँगै त्रिवेणी मावि सिम्रुतुले लगातार तेस्रो पटक शिल्ड जितेको छ । अव उक्त शिल्ड सधैँको लागि विद्यालयले प्राप्त गरेको छ । आगामी वर्ष शिल्ड सञ्चालन गर्दा गाउँपालिकाले नयाँ शिल्ड खरिद गर्नुपर्ने छ ।
शिल्डमा छात्र, छात्रा भलिबल, कबड्डी, एथलेटिक्स तर्फ एक सय मिटर, दुई सय मिटर, ४ सय, ८ सय, १५ सय र तीन हजार मिटर छात्र छात्रा दौड प्रतियोगिता सञ्चालन भएका थिए । त्यस्तै ४ सय र १६ सय मिटर छात्र, छात्रा रिले दौड, फिल्डका खेलकुद तर्फ छात्र, छात्रा हाई जम्प, लङ जम्प, त्रिपलजम्प, ज्याभ्लिङ थ्रो र सट फुट प्रतियोगिता सञ्चालन हुँदा मार्सल आर्ट तर्फ छात्रा, छात्र तेक्वान्दो र कराते प्रतियोगिताहरू सञ्चालन भएका थिए ।
आइतबारबाट सुरु भएको शिल्ड मङ्गलवारसम्म चलेको थियो । शिल्डमा पालिकामा रहेका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।






-1759842583.jpg)