Kakhara सबैको खबर सम्पूर्ण खबर
आँखा उपचार केन्द्र रुकुम पश्चिमको भवन निर्माण सुरु 

आँखा उपचार तथा सर्जिकल केन्द्र रुकुम पश्चिमको भवन निर्माणको काम सुरु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा भवन निर्माणको काम सुरु भएको नेपाल नेत्र ज्योति सङ्घ रुकुम पश्चिमका सभापति शिवराम खत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार २ करोड ८७ लाखमा तीन तले भवन निर्माणको काम सुरु भएको हो । भवन निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमै सक्ने गरी भवन निर्माणको काम सुरु भएको उहाँले बताउनुभयो । 

भवन निर्माणका लागि नेपाल नेत्र ज्योति सङ्घले सहयोग सङ्कलन, संस्थाका सदस्यबाट तथा अन्य ठाउँबाट ऋण लिएर जग्गा खरिद गरेको खत्रीको भनाई छ । उहाँका अनुसार जग्गा व्यवस्थापनमा २२ लाख खर्च भएको छ । भवन निर्माण भएमा सेवा प्रवाहमा थप सहजता आउने विश्वास गरिएको छ । 

यसअघि सल्लेमै भाडाको घरमा रहेको आँखा उपचार तथा सर्जिकल केन्द्र हाल जिल्ला अस्पताल परिसरमा सञ्चालनमा छ । साँघुरो ठाउँबाट सेवा प्रवाह गर्दा समस्या भइरहेको केन्द्रका प्रमुख धनबहादुर केसीले बताउनुभयो । 

सेवा प्रवाहमा सहजता होस भनेर आँखा उपचार तथा सर्जिकल केन्द्र, नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा लगायतका सरोकारवालाको पहलमा जग्गाको व्यवस्थापन गरेर भवन निर्माणको काम सुरु भएको र समयमै भवन निर्माण सम्पन्न भएर प्रभावकारी सेवा प्रवाह हुने विश्वास गरिएको उहाँले बताउनुभयो । 

जिल्लामा आँखा उपचार तथा सर्जिकल केन्द्र स्थापना भएपछि जिल्लावासीले जिल्लामै आँखा तथा कान सम्बन्धी सेवा पाइरहेका छन् । चेकजाँच, उपचार तथा अप्रेसन समेत जिल्लामै हुने गरेको प्रमुख केसीले बताउनुभयो । 

बर्सेनि ठुलो संख्यामा जिल्लावासीले आँखा तथा कान सम्बन्धी सेवा लिइरहेको उहाँले बताउनुभयो । केन्द्रले चेकजाँच तथा उपचार सेवाका साथै जिल्लामा उपचार तथा परीक्षण शिविरहरू समेत सञ्चालन समेत गरिरहेको छ ।  

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update