Kakhara सबैको खबर सम्पूर्ण खबर
अब रुकुम पश्चिमबाट एकै दिनमा काठमाडौँ पुगिने, भोली देखि नियमित स्कर्पियो चल्ने 

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट देखि भोली आइतबार देखि काठमाडौँसम्म स्कर्पियो चल्ने भएका छन् । यात्रुहरूलाई सहज र छरितो सेवा दिने उद्देश्यले सानीभेरी यातायात प्रालि र बटालियन यातायात प्रालिको सहकार्यमा स्कर्पियो सञ्चालन हुने भएका हुन् ।

यात्रुहरूलाई एकै दिनमा रुकुम पश्चिमबाट काठमाडौँ पुर्‍याउने र काठमाडौँबाट रुकुम पश्चिम ल्याउने उद्देश्यले स्कर्पियो सेवा सुरु हुन लागेको सानीभेरी यातायात प्रालिका अध्यक्ष सरोज देवकोटाले जानकारी दिनुभयो ।

अब देखि नियमित रूपमा दिनमा एउटा स्कर्पियो रुकुम पश्चिमबाट काठमाडौँका लागि र काठमाडौँबाट एउटा स्कर्पियो छुट्ने उहाँले बताउनुभयो । कानुन अनुसार स्कर्पियोलाई सार्वजनिक यातायातको रूपमा परिमार्जन गरी सेवा सुरु गर्न लागेको उहाँको भनाई छ ।

अब रुकुम पश्चिमबाट एकै दिनमा काठमाडौँ र काठमाडौँबाट एकै दिनमा रुकुम पश्चिम पुग्न सकिने भएको छ । सानीभेरी यातायात प्रालिका कार्यालय प्रमुख रमेश गिरीका अनुसार रुकुम पश्चिमबाट दैनिक बिहान ७ बजे गाडी छुट्ने छ भने सोही दिन बेलुका ८ बजेसम्म काठमाडौँ पुग्ने र काठमाडौँबाट पनि सोही समयमा गाडी छुटेर सोही दिन रुकुम पश्चिम पुग्ने छ ।

अहिलेलाई तीन वटा स्कर्पियो रहेको र केही समयमा अरू पनि थप हुने बताइएको छ । अहिले पनि रुकुम पश्चिमबाट स्कर्पियो रिजर्भ गरेर काठमाडौँसम्म लैजाने गरिएको छ । तर अब भने सार्वजनिक यातायातका रूपमा नियमित सेवा सुरु हुन लागेको हो । 

 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update