Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा बजार अनुगमन, ५२ हजार मुल्य बढीका म्याद ग्रुजिएका खाद्य सामग्री बरामद 

रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगा बजारमा बजार अनुगमन गरिएको छ । आज खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजनामा मुसिकोट नगरपालिका वडा नम्बर १ कालिकास्थान देखि त्रिवेणी चोक, वडा नम्बर ५ बागबजार र सेरिगाउँका खाद्य तथा किराना पसलहरुमा अनुगमन गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेका निमित्त कार्यालय प्रमुख सन्तोष दाहालको नेतृत्वमा बजार अनुगमन गरिएको हो । 

बजार अनुगमनका क्रममा उपभोग्य सामग्रीको अवधि सकिएको तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन–२०८१ विपरित रहेका खाद्य पदार्थहरू बरामद गरिएको निमित्त कार्यालय प्रमुख दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमन गरिएका खाद्य तथा किराना पसलहरुबाट ५२ हजार २ सय १५ रुपैयाँ बराबरको सामान बरामद गरिएको छ । जसमा खाद्यन्न २१ हजार ६ सय ३४, हल्का पेय पदार्थ ६ हजार ४ सय ६०, मरमससला ४ सय ३० र चक्लेट, विस्कुट २३ हजार ६ सय ९० गरी कुल ५२ हजार २ सय १५ रुपैयाँ बराबरको सामान बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेका नित्तित प्रमुख दाहालले जानकारी दिनुभयो । बरामद गरिएको सामग्री आजै नष्ट गर्ने बजार अनुगमन समितिले जनाएको छ ।

 बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, मुसिकोट नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, पत्रकार र युवा मानव अधिकारको  टोलीले संयुक्त अनुगमन गरेको थियो । हिजो मात्रै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको टोलीले चौरजहारी नगरपालिकाका होटेल तथा रेष्टुरेन्टमा अनुगमन गर्दा २४ हजार ९ सय १० रुपैयाँ बराबरको म्याद गु्रजिएको समान बरामद गरी नष्ट गरेको थियो । 
 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update