Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट २ का स्थानीयले सतिपाेलेमा फाेहाेर फाल्न राेके,  जबरजस्ती गरे कडा संघर्षमा उत्रने चेतावनी

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ का स्थानीयले वडाको सतिपोलेमा फोहोर फाल्न रोक लगाएका छन् । प्रदूषण बढेको र नगरपालिकाले बारम्बार आश्वासन दिएर फोहोर फालिरहेको बन्दै स्थानीयले आज देखि फोहोर फाल्न रोकेका हुन् । 

मुसिकोट नगरपालिकाले विगत लामो समय देखि उक्त ठाउँमा फोहोर फालिरहेको छ । सुरुमा स्थानीयले बसपार्कका लागि भन्दै मुसिकोट नगरपालिकालाई जग्गा सहयोग गरेका थिए । तर नगरपालिकाले उक्त ठाउँ डम्पिङ साइडका रूपमा प्रयोग गरिरहेको छ । यस विषयमा स्थानीले सुरुबाटै असन्तुष्टि जनाउँदै आएका छन् ।

1000133981-1767620144.jpg
तर नगरपालिकाले उक्त ठाउँमा फोहोर फाल्न भने रोकेको छैन । पटक पटक स्थानीयले फोहोर फाल्ने कार्यमा अवरोध समेत पुर्‍याइरहेका छन् । तर नगरपालिकाले अर्को ठाउँमा व्यवस्थापन भइरहेकोले केही समयको लागि उक्त ठाउँ प्रयोग गर्न दिन भन्दै आफूहरूलाई आश्वासन दिइरहेको र यसरी १३ वर्ष बित्दा पनि नगरपालिकाले फोहोर फाल्न नछाडेपछि बाध्य भएर फोहोर फाल्न रोक लगाएको स्थानीय रमेश खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार नगरपालिकाले पटक पटक आश्वासनमा अल्झाएर फोहोर फालिरहेको र अब भने फोहोर फाल्न दिइने छैन । ‘स्थानीयले बसपार्कका लागि भनेर नगरपालिकाका नाममा जग्गा उपलब्ध गराएका हुन्, तर नगरपालिकाले झुक्क्याएर फोहोर फाल्न थाल्यो, हामीले सुरुबाटै अवरोध गर्दै आएका छौँ, तर नगरपालिकाले केही समयका लागि भन्दै पटक पटक ढाँट्दै १३ वर्ष यस ठाउँमा फोहोर फाल्यो छ, अब भने हामी यहाँ फोहोर फाल्न दिन्नौ, स्थानीयले जे प्रयोजनका लागि भनेर जग्गा दिएका हुन् सोही अनुसार हुनुपर्छ भन्ने हाम्रो एक मात्र माग हो,’ उहाँले भन्नुभयो । 

1000133982-1767620146.jpg
यस ठाउँमा फोहोर फाल्दा वडाका धेरै टोल बस्नै नसकिने गरी प्रभावित बनेको स्थानीयको भनाई छ । स्थानीय नरबहादुर खड्काले फोहोरका कारण तल तलसम्मका गाउँ पनि गन्ध र फोहोर जलाइदा उड्ने दूषित धुवाँले ढाकिएको बताउनुभयो । भान्सा सम्मै प्रदूषण फैलिदा स्थानीयमा विभिन्न स्वास्थ्य समस्याहरू समेत देखिन थालेको उहाँको भनाई छ । 

यस अघि कहिले पनि नदेखिएका स्वास्थ्य समस्याहरू स्थानीयलाई देखिएको खड्काले बताउनुभयो । अब कुनै पनि हालतमा यो ठाउँमा फोहोर फाल्न नदिने उहाँले बताउनुभयो । हिजो स्थानीयले फोहोर लिएर गएको टिप्पर फर्काइदिएका थिए । तर रातको समयमा नगरपालिकाले फोहोर फालेको र फोहोर आगो लगाएपछि थप आक्रोशित भएका स्थानीयले आज बिहानै डम्पिङ साइडमा पुग्ने बाटो डोजर लगाएर अवरुद्ध पारेका छन् । 

जति गर्दा पनि नगरपालिकाले नटेरेपछि बाध्य भएर आफ्नै खर्चमा डोजर लगाएर डम्पिङ साइडसम्म पुग्ने बाटो अवरुद्ध पारिएको स्थानीयले बताएका छन् । आफूहरूको शान्तिपूर्ण अवरोधलाई अवज्ञा गरेर नगरपालिकाले पुनः फोहोर फाल्न खोजेमा कडा संघर्षका कार्यक्रम सुरु गर्ने र यसको जिम्मेवार नगरपालिका स्वयं हुने स्थानीयले चेतावनी पनि दिएका छन् । 

1000133980-1767620147.jpg
मुसिकोट नगरपालिकाले वडा नम्बर १ को निपानेमा डम्पिङ साइड बनिरहेको र उताको काम नसिएकोले सतिपोलेलाई बैकल्पिक रूपमा प्रयोग गरिरहेको बताएको छ । अहिले फोहोर फालिरहेको सतिपोले फोहोर व्यवस्थापनको विकल्पका रूपमा प्रयोग भइरहेको र निपानेको काम सकिने बित्तिकै सोही ठाउँमा फोहोर फाल्न सुरु गर्ने नगर उपप्रमुख विमलकुमार पुनले जानकारी दिनुभयो । 

स्थानीयले बारम्बार फोहोर नफाल्न भनिरहेको बताउँदै उहाँले नगरपालिका पनि सोही ठाउँमा फोहोर फाल्ने पक्षमा नरहेको उहाँले दाबी गर्नुभयो । तर नेपानेको काम नसकिएकोले नगरपालिकालाई बाध्यता रहेको उहाँको भनाई छ । निपानेमा केही वर्ष देखि डम्पिङ साइड निर्माणको काम चलिरहेको छ । तर उक्त कामले अहिलेसम्म पूर्णता पाउन नसकेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update