Kakhara सबैको खबर सम्पूर्ण खबर
आँखा उपचार तथा सर्जिकल केन्द्रको भवन शिलान्यास

आँखा उपचार तथा सर्जिकल केन्द्र रुकुम पश्चिमको भवन शिलान्यास भएको छ । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो । भवनको शिलान्यास गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य रोकायले भवन तोकिएकै समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्नुभयो । 

साथै भवनको गुणस्तर कायम गर्न र समयमै निर्माण कार्य सम्पन्न गर्न निरन्तर अनुगमन र खबरदारी गर्न स्थानीय तह, राजनीतिक दल तथा जिल्लास्थित सरोकारवाला निकायलाई अनुरोध समेत गर्नुभयो । त्यस्तै उहाँले यो भवन निर्माण भएमा थप गुणस्तरीय सेवा प्रवाह गर्न सहज हुने विश्वास समेत व्यक्त गर्नुभयो । 

पछिल्लो समय जिल्लामै आँखाको गुणस्तरीय सेवा प्रवाह हुँदा जिल्लावासीलाई सहज भएको आफूले पाएको उहाँले बताउनुभयो । आँखा उपचार सेवालाई थप विस्तार गर्दै लैजानुपर्ने आवश्यकता समेत रहेको उहाँले बताउनुभयो । 

कार्यक्रमका विशेष अतिथि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले आँखा उपचार सेवालाई विशेष प्राथमिकता दिएको बताउनुभयो । जिल्लामा हालसम्म सेवा पाएकाहरूको सङ्ख्या हेर्दा यसलाई शिक्षण अस्पतालकै रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको मन्त्री भण्डारीले बताउनुभयो । प्रदेशभरिमा आँखा उपचार सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन प्रदेश सरकार लागि परेको अवस्थामा त्यस अन्तर्गत रुकुम पश्चिममा पनि काम हुने उहाँले स्पष्ट पार्नुभयो ।  

मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा भवन शिलान्यास भएको हो । २ करोड ८० लाखमा साढे तीन तले १७ कोठे भवन निर्माणका लागि ठेक्का लागेको नेपाल नेत्र ज्योति सङ्घ रुकुम पश्चिमका सभापति शिवराम खत्रीले जानकारी दिनुभयो । भवन निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमै सक्ने गरी भवन निर्माणको काम सुरु भएको उहाँले बताउनुभयो । 

भवन निर्माणका लागि नेपाल नेत्र ज्योति सङ्घले सहयोग सङ्कलन, संस्थाका सदस्यबाट तथा अन्य ठाउँबाट ऋण लिएर जग्गा खरिद गरेको खत्रीको भनाई छ । उहाँका अनुसार जग्गा व्यवस्थापनमा २२ लाख खर्च भएको छ । यसअघि सल्लेमै भाडाको घरमा रहेको आँखा उपचार तथा सर्जिकल केन्द्र हाल जिल्ला अस्पताल परिसरमा सञ्चालनमा छ । साँघुरो ठाउँबाट सेवा प्रवाह गर्दा समस्या भइरहेको केन्द्रका प्रमुख धनबहादुर केसीले बताउनुभयो । 

सेवा प्रवाहमा सहजता होस भनेर आँखा उपचार तथा सर्जिकल केन्द्र, नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा लगायतका सरोकारवालाको पहलमा जग्गाको व्यवस्थापन गरेर भवन निर्माणको काम सुरु भएको हो ।

जिल्लामा आँखा उपचार तथा सर्जिकल केन्द्र स्थापना भएपछि जिल्लावासीले जिल्लामै आँखा तथा कान सम्बन्धी सेवा पाइरहेका छन् । चेकजाँच, उपचार तथा अप्रेसन समेत जिल्लामै हुने गरेको प्रमुख केसीले बताउनुभयो । 

बर्सेनि ठुलो संख्यामा जिल्लावासीले आँखा तथा कान सम्बन्धी सेवा लिइरहेको उहाँले बताउनुभयो । केन्द्रले चेकजाँच तथा उपचार सेवाका साथै जिल्लामा उपचार तथा परीक्षण शिविरहरू समेत सञ्चालन समेत गरिरहेको छ । 

नेपाल नेत्र ज्योति सङ्घ रुकुम पश्चिमका सभापति शिवराम खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायको प्रमुख तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य मिलन खड्का, तुलसा मल्ल, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, उप प्रमुख विमलकुमार पुन, वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अस्पताल विकास समितिका अध्यक्ष टेक कुसारीले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update