जाजरकोटको छेडागाड नगरपालिका ८ मा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका ८ बाहार्नाखोला स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा छेडागाड ९ पजारुकी ७० बर्सिया नन्दकला अधिकारी र सोही ठाउँका २८ वर्षीय राजु अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिनुभयो ।
दुवै जनाको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । उहाँका अनुसार छेडागाड नगरपालिका ९ पजारुबाट थलह तर्फ आउँदै गरेको क.प्र. ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जिप आज बिहान ११ बजेतिर ब्रेक फेल भई सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । जिपमा ६ जना सवार रहेकामा ४ जना घाइते छन् ।
घाइते हुनेहरूमा चालक छेडागाड नगरपालिका ९ का २४ वर्षीय कृष्ण अधिकारी, वडा नम्बर ८ की २० बर्सिया लक्ष्मी खत्री, वडा नम्बर ९ का अन्दाजी ३९ बर्सिया बीरबहादुर अधिकारी र दैलेख नौमुले गाउँपालिका ६ की अन्दाजी २३ बर्सिया शीतला रावत रहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।
उनीहरूको अवस्था मध्यम रहेको र नगर अस्पताल बडाबनमा उपचार भइरहेको उहाँले बताउनुभयो ।






-1759842583.jpg)
