रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडीमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा स्थापना भएको छ । आज एक कार्यक्रमका बिच बैङ्कको ३१२ औँ शाखा कार्यालय स्थापना भएको हो । शाखा स्थापना भएसँगै बैङ्क सम्बन्धी सबै सेवा पनि सुरु भएका छन् ।
दुई वर्षको लगातारको माग तथा पहलपछि राडीमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालय स्थापना भई सेवा सुचारु भएको आठविसकोट नगरपालिकाका प्रमुख रवि केसीले बताउनुभयो ।
बैङ्क शाखा देखि टाढा रहेका नगरका वडाहरू १, २, ३, ४, ५ र ६ को लागि अलग अलग दुई वटा काउन्टरको समेत माग गरेको उहाँको भनाई छ । राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालयको निम्ति पहल गर्ने सबैलाई उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।
राडी शाखाबाट खाता खोल्ने, रकम निकाल्ने, जम्मा गर्ने देखि चेक क्लियरिङ, पेन्सन, सामाजिक सुरक्षा भत्ता, राजश्व, इ–बैङ्किङ, सरकारी कारोबार, रेमिट्यान्स, ऋण लगानी लगायतका सम्पूर्ण बैङ्किङ सेवा प्रवाह सुरु भएको राष्ट्रिय वाणिज्य बैङ्क मुसिकोट शाखा प्रमुख हेमन्तराज न्यौपानेले जानकारी दिनुभयो ।
राष्ट्रिय वाणिज्य बैङ्कको शाखा स्थापना भएसँगै अव आठविसकोट नगरवासीलाई नगरमै बैङ्किङ सेवा लिन सहज भएको छ ।






-1759842583.jpg)
