Kakhara सबैको खबर सम्पूर्ण खबर
सल्यानमा बाघको आक्रमणबाट ६५ वर्षिय बृद्धको मृत्यु

सल्यानमा बाघको आक्रमणबाट एक बृद्धको मृत्यु भएको  छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ६ हातिढुंगाका ६५ वर्षिय चन्दबहादुर खप्पतडीको बाघको आक्रमणबाट मृत्यु भएको हो । सोमबार घरदेखि ३ सय मिटर टाढा अन्न पिस्न घट्ट पुगेका चन्द्रबहादुर घर नआएपछि खोजि गर्दा आज विहान ११ :२० बजेको समयमा घरदेखि २ किलोमिटर पूर्व शान्ती सामुदायिक वनमा मृत फेला परेको प्रहरी चौकी घुइयाबारी सल्यानका प्रहरी सहायक निरीक्षक लालबहादुर थापाले जानकारी दिनुभयो । 

प्रहरी चौकी घुईयाबारी सल्यानका प्रहरी सहायक निरीक्षक थापाको नेतृत्वमा ३ जना प्रहरी टोली र  बाँके राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट घुईयाबारिबाट जमदार यज्ञबहादुर कुमालको नेतृत्वमा ७ जना आर्मीको टोलीसहित स्थानियवासीले खोजि गर्दा चन्द्रबहादुर मृत फेला पर्नुभएको हो । उहाँको शव शान्ति सामुदायिक वनमा दाँया खुट्टाको घुडासम्म बाघले खाएको अवस्थामा फेला परेको छ ।

केही दिन अगाडी पनि सल्यानको कालिमाटी गाउँपालिका ७ पर्सेनीमा बाघको आक्रमणबाट जंगलमा घाँस काटन गएकी ४२ वर्षिया धनसरी रावतको मृत्यु भएको थियो । 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update