Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम प्रहरीले सार्वजनिक गर्‍यो ६ महिनाको प्रगति विवरण
प्रगति विवरण सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चालु आर्थिक वर्ष २०८२/०८३ को ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । साउन १ गते देखि पुस २८ गते आजसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो । आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले प्रगति विवरण सार्वजनिक गर्नुभयो । 

उहाँले ६ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयले गरेको कार्य र सञ्चालित गतिविधिका बारेमा जानकारी गराउनुभएको हो । उहाँका अनुसार यो अवधिमा जिल्ला प्रहरी कार्यालयमा कुल १ सय १५ वटा मुद्दा दर्ता भएका छन् । जसमा जघन्य तथा गम्भीर अपराधका १५, महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका १२ वटा र आर्थिक अपराधका १९ वटा लगायत रहेको डिएसपी विष्टको भनाई छ । 

यो अवधिमा चालु मुद्दाका प्रतिवादी ६३ जना पक्राउ परेका छन् भने लामो समय देखि अनुसन्धानकै क्रममा रहेका ३ वटा घटनाको सफल अनुसन्धान गरिएको उहाँले बताउनुभयो । फैसला कार्यान्वयन अन्तर्गत ३७ जनालाई पक्राउ गरिएको छ भने उक्त व्यक्तिबाट १८ वर्ष ९ महिना १२ दिन कैद तथा ६७ हजार ३ सय २० रुपैयाँ जरिवाना असुल गरिएको छ । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक अपराध तर्फ ५२ वटा मुद्दा फर्छ्यौट भएका छन् । यो अवधिमा १४ महिला हराएकामा १३ जना फेला, ७ पुरुष हराएकामा ७ जनै फेला, ५ बालक हराएकामा ४ बालक फेला, २४ जना बालिका हराएकामा सबै फेला र २ जना ज्येष्ठ नागरिक हराएकामा १ जना फेला परेको डिएसपी विष्टले जानकारी दिनुभयो । 

घरेलु हिंसा तर्फ ३७ वटा उजुरी परेकामा २९ वटामा मिलापत्र भएकामा ८ वटा अदालत पठाइएको छ । ठाडो उजुरी तर्फ कार्यालयमै आएर दिएका ६३ मध्ये सबै फर्छ्यौट भएका छन् भने जिल्ला प्रशासन कार्यालय मार्फत आएका ७ वटा उजुरी फर्छ्यौट भएका छन् । 

यसै अवधिमा १० पुरुष, ३ महिला, ५ बालक र २ बालिका गरी २० जनाले आत्महत्या गरेका छन् । डिएसपी विष्टका अनुसार यो अवधिमा जिल्ला भर ६५ वटा सवारी दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका छन् भने १ सय ३१ जना घाइते भएका छन् । 

सवारी चेकजाँचका क्रममा १ हजार ६ सय ८२ वटा सवारी साधनलाई कारबाही गर्दा १४ लाख ४८ हजार राजस्व सङ्कलन भएको छ । त्यस्तै पहिरोका ४२ वटा, बाढीका ४ वटा, चट्याङका ६ वटा र आगलागीका ५ वटा घटना भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये पहिरो र चट्याङबाट १/१ जनाको मृत्यु भएको छ भने १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी मुचुल्का बनेको छ । 

त्यस्तै प्रहरीले यो अवधिमा १ सय ३६ क्यू फिट काठ बरामद गर्नुका साथै समुदाय तथा विद्यालय केन्द्रित २ सय ७२ वटा कार्यक्रम सञ्चालन गरेकामा ९ हजार २ सय ३३ जना लाभान्वित बनेका छन् । त्यस्तै त्रिवेणी र चौरजहारीमा सार्वजनिक सुनुवाइ समेत गरेको डिएसपी विष्टले जानकारी गराउनुभयो । 

प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी समेतको उपस्थितिमा पत्रकार सम्मेलन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update