आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ भर्ना गर्न लागिएको निर्वाचन प्रहरीका लागि आवेदन दिने समय आज सकिएको छ । पुस २५ गते देखि आजसम्मको अन्तिम समयमा रुकुम पश्चिममा निर्वाचन प्रहरीका लागि १४ सय १४ जनाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्ममा गरी उक्त संख्यामा आवेदन परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जिल्ला प्रहरी कार्यालयमा १३ सय १ जनाको आवेदन परेको छ । महिला ३ सय ५५ र पुरुष ९ सय ४६ गरी १३ सय १ जनाको आवेदन परेको उहाँले बताउनुभयो ।
त्यस्तै सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म मठमा १ सय १३ जनाको आवेदन परेको निमित्त प्रमुख सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माले जानकारी दिनुभयो । जिल्लामा कुल ९ सय ४९ जना निर्वाचन प्रहरी भर्ना गरिने छ । जिल्लामा तोकिएको संख्या भन्दा ४ सय ६५ जनाको बढी आवेदन परेको हो ।
जिल्लामा यसपालिको निर्वाचनका लागि ९ सय ४९ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएकामा ८ सय ५३ जना प्रहरी मार्फत परिचालन हुने छन् भने ९६ जना सशस्त्र प्रहरी मार्फत परिचालन हुने छन् ।
तोकिएको समयमा आवेदन भरेकाहरू मध्यबाट जिल्ला सुरक्षा समिति वा समितिले बनाएको छनोट उप समितिले संयुक्त छनोट गर्ने र ८ सय ५३ जनालाई जिल्ला प्रहरी कार्यालय तथा ९६ जनालाई सशस्त्र प्रहरीले तालिम दिएर परिचालन गर्ने छ ।
सरकारले निर्वाचनको सुरक्षा परियोजनका लागि ४० दिनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो । यस अघि म्यादी प्रहरी नामकरण गरिए पनि यस पटक देखि भने सरकारले नाम परिवर्तन गरी निर्वाचन प्रहरी बनाएको छ । सरकारले यसअघि नेपाल प्रहरीलाई मात्र म्यादी प्रहरी परिचालनको अधिकार दिएको थियो भने यो पटक सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी परिचालन गर्ने अधिकार पाएको छ ।





-1759842583.jpg)
