रुकुम पश्चिमका सरोकारवालाहरूले भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिएका छन् । २८ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयमा भएको अन्तरक्रिया तथा छलफलमा सहभागी सरोकारवालाहरूले मापदण्डको पूर्ण कार्यान्वयन गरी भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिएका हुन् ।
भूकम्पलाई रोक्न नसकिने भए पनि भूकम्पबाट हुनसक्ने सम्भावित जोखिमलाई कम गर्न सकिने भन्दै उनीहरूले यसमा सरोकारवाला देखि नागरिकसम्मले हातेमालो गर्न आवश्यक रहेको जोड दिएका छन् । भौतिक संरचना निर्माण गर्दा अनिवार्य रूपमा विभिन्न मापदण्डहरू पूरा गर्नुपर्ने स्पष्ट व्यवस्था भए पनि सबै पक्षबाट लापरबाही हुँदा जोखिम बढ्दै गएको भन्दै चिन्ता समेत व्यक्त भएको छ ।
२ वर्ष अघि जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पले ठुलो क्षति गर्दा पनि अझै चेत खुल्न नसकेको भन्दै भोलीका दिनमा हुनसक्ने सम्भावित जोखिमलाई अहिलेबाट नै कम गर्न तर्फ राज्य गम्भीर बन्नुपर्ने र यसमा अन्य सबैको दायित्व अहम् रहने सरोकारवालाहरूको जोड थियो । राज्यले नै कडाइका साथ भवन संहिता लगायतका कानुनलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
साथै सहभागीहरूले जाजरकोट भूकम्पबाट जिल्लामा पुगेको क्षतिको पुनर्निर्माण सन्तोषजनक नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् । भूकम्प गएको २ वर्ष भन्दा बढी भइसक्दा पनि भूकम्प प्रभावितहरू टहरामै बस्नु परेको भन्दै उनीहरूले पुनर्निर्माण र प्रबलीकरण तीव्र गतिमा अघि बढ्नुपर्ने बताएका छन् ।
साथै केही भूकम्प प्रभावित अझै पनि छुटेको गुनासाहरू जिल्लामा व्याप्त रहेकोले यसमा पनि सरकार गम्भीर भन्नुपर्नेमा सहभागीहरूको जोड थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले भूकम्पको सम्भावित जोखिमलाई कम गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
राज्यले नीति निर्माण गरेको र यसको कार्यान्वयनका लागि स्थानीय तह देखि प्रदेश र सङ्घ तथा अन्य सरोकारवालाले यसमा काम गर्न आवश्यक रहेको उहाँको भनाई छ । साझा प्रयासबाट मात्र भूकम्पीय जोखिमलाई कम गर्न सकिने उहाँले बताउनुभयो । साथै उहाँले जिल्लामा भूकम्प पछिको पुनर्निर्माण, प्रबलीकरणको काम सुरु भइसकेको र छुटेका भनिएका भूकम्प पीडितका सम्बन्धमा पनि प्राधिकरणमा लेखि पठाएको स्पष्ट पार्नुभयो ।
दिवसहरू साङ्केतिक भएको र वर्षैभरि भूकम्पीय सुरक्षामा सबै चनाखो हुनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सह सचिव यज्ञ विष्ट, नेकपा एमालेका मुसिकोट अध्यक्ष गोकर्ण खड्का, रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्का, पत्रकार मनिष खड्का लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालयले आयाेजना गरेकाे कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी केशव ओलीले गर्नुभएको थियो । आज देश भरीमा २८ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । विसं १९९० माघ २ गते नेपालमा विनाशकारी भूकम्प गएको दिनको सम्झनामा हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।।





-1759842583.jpg)