रुकुम पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाकाे त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ७४ वर्षीय गणेशबहादुर कामीले श्रीमती ६५ बर्सिया पम्फा कामीकाे टाउको र हातमा सनासाेले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार पम्फाको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । गणेशबहादुरले श्रीमती पम्फालाई सनासोले टाउको र हातमा हानेर घाइते बनाएपछि शुक्रवार अपराह्न साढे ४ बजेतिर बुहारी सिर्जना विकले उपचारका जिल्ला अस्पताल सल्ले ल्याएको उहाँले बताउनुभयो ।
जिल्ला अस्पतालबाट थप उपचारका लागि शुक्रवार बेलुकी साढे ७ बजेतिर नेपालगन्ज पठाइएकामा ८:३० बजेतिर बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक पुनले बताउनुभयो । गणेशले मादक पदार्थ सेवन गरी सामान्य विवादका कारण आफ्नै श्रीमती पम्फालाई कुटपिट गरेको उहाँको भनाई छ ।
उहाँका अनुसार गणेशलाई पक्राउ गरेर घटनाकाे थप अनुसन्धान सुरू भएकाे छ । शव जिल्ला अस्पताल सल्लेमा राखिएकाे छ ।





-1759842583.jpg)