Kakhara सबैको खबर सम्पूर्ण खबर
अमेरिकामा सहयाेग जुटाएर डम्मानामा साझा गोठ बन्दै

रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिका ३ को डम्मानाममा साझा गोठ  निर्माण भइरहेको छ । लेकमा जाने स्थानीय सहजताका लागि वडाको सिरानमा पर्ने डम्मानामा साझा गोठ निर्माण हुन लागेको हो ।

गोठ निर्माणको ८० प्रतिशत काम सकिएको गोठ निर्माणका पहलकर्ता हाल अमेरिकामा रहनुभएका राकेश केसीले जानकारी दिनुभयो । केही दिनमा निर्माण कार्य सम्पन्न हुने उहाँको भनाई छ ।

विशेष गरी लेकाली क्षेत्रमा निगालाका टुसा, च्याउ, साग, सिस्नो, डोका, मान्द्राका लागि चोया ल्याउन जानेहरूलाई घाम, पानी तथा चिसोबाट जोगाउन र बास बस्नुपरेमा बासका लागि सहज होस भनेर सहयोग जुटाएर गोठ निर्माण गरिरहेको केसीले बताउनुभयो ।

गोठका लागि केसीको पहलमा अमेरिकामा सहयोग सङ्कलन भएको छ । गोठका लागि तुलवीर बोहरा र ज्ञानेन्द्र बोहराले १२०/१२० डलर,  पूर्णबहादुर ओली र दीपक बोहराले १००/१०० डलर, सिताराम केसी, दीपक केसी, लोकेश देवकोटा र विवेक बोहराले ५५/५५ डलर सहयोग गर्नुभएको छ ।

त्यस्तै केशव बोहरा, आशिष् पौडेल, नवीन खड्का, दीपक देवकोटा, दीपक केसी, नवराज ओली, चिन्तामणि ओली, रामप्रसाद देवकोटा र भीम रिजालले ५०/५० डलर सहयोग गरेको पहलकर्ता केसीले जानकारी गराउनुभयो । अब भने सहयोग सङ्कलन कार्य बन्द गरिएको उहाँको भनाई छ ।

आफ्नो गाउँ ठाउँका लागि केही गरौँ भन्ने सोचका साथ गोठ निर्माण अभियान थालेको र यसले स्थानीयको आर्थिक उपार्जनमा टेवा पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो । यसमा स्थानीयको श्रमदान समेत रहेको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update