Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गर्यो ६ महिनामा गरेका सम्पादिन कामको सार्वजनिक 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले ६ महिनाको अवधिमा गरेका कामकाजको विषयमा जानकारी बनाएको छ । आज जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी ६ महिनाको अवधिमा गरेका सम्पादित कामहरूको जानकारी बनाएको हो । चालु आर्थिक वर्षको साउन १ गतेदेखि पुस महिनासम्म प्रशासनले गरेका सम्पादित कामको प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी बनाउनुभएको हो ।

उहाँका अनुसार ६ महिनाको अवधिमा कार्यालयले २ हजार ९ सय ३३ नागरिकता जारी गरेको छ । त्यस्तै सोही अवधिमा २ हजार ४ सय ६४ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ । त्यसै गरी  ३ वटा नागरिकता रद्द, ७४ वटा नाबालक परिचय पत्र जारी गरिएको उहाँले जानकारी दिनुभयो । प्रजिअ थानीका अनुसार छ महिनाको अवधिमा लागु औषध कारोबारमा सङ्लन ५ जनालाई पक्राउ गरिएको छ । शान्ति सुरक्षातर्फ सोही अवधिमा १ सय १५ वटा आपराधिक घटना, १ वटा हत्याका घटना घट्दा विभिन्न मुद्दा लागेका ६१ जना अभियुक्त पक्राउ परेका छन् । 

त्यस्तै गरी ६ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयले ४ हजार ३ सय ११ राहदानी ई पासपोर्ट दर्ता गरेको छ भने १३ सय ७४ वितरण गरिसकेको छ । सोही अवधिमा प्रशासन कार्यालयले ७ हजार ४ सय ७४ वटा राष्ट्रिय परिचयपत्र दर्ता गरेको छ । विविध सिफारिसतर्फ २९८, ४ वटा ड्रोनलाई अनुमति, ५ वटा हातहतियार नवीकरण, २० वटा सुरक्षा समितिको बैठक, ८ वटा सार्वजनिक शान्ति विरुद्धको मुद्दा दर्ता, ६ पटक बजार अनुगमन गरिएको प्रजिअ थानीले बताउनुभयो ।

द्वन्द्व प्रभाविततर्फ २४ जनालाई १४ लाख ३४ हजार रुपैयाँ उपलब्ध गराउनुका साथै सवारी दुर्घटनामा घाइते भएका २३ जनालाई १ करोड ३२ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध बनाएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update