Kakhara सबैको खबर सम्पूर्ण खबर
बच्चालाई श्वासप्रश्वासमा समस्या भएपछि आमा र शिशुलाई हेलिकप्टरमा सुर्खेत लगियो 
फाइल फाेटाे ।

रुकुम पश्चिमबाट आमा र नवजात शिशुलाई उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ गाउँबारीकी विष्णु केसी र उहाँको नवजात शिशुलाई उद्धार गरेर आज नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको हो । 

८ महिनामै व्यथा लागेपछि विष्णुलाई हिजो साँझ जिल्ला अस्पताल सल्ले लगिएकोमा राती १२ बजेतिर अप्रेसन गरिएको स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर जीवन परियारले जानकारी दिनुभयो । विष्णुले छोरालाई जन्म दिनुभएको छ भने छोराको फोक्सोमा समस्याका कारण श्वासप्रश्वासमा असर देखिएको उहाँको भनाई छ । 

जिल्ला अस्पतालमा बाल रोग विशेषज्ञ डाक्टर तथा एन आइसियु नभएका कारण राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरेर आज दिउँसो सुर्खेत पठाइएको डा.परियारले जानकार दिनुभयो । विष्णुको यो तेस्रो डेलिभरी रहेको उहाँले बताउनुभयो । 

पहिलो डेलिभरी नर्मल रहेकामा दोस्रो डेलिभरी भने अप्रेसन मार्फत भएको पाइएको डा.परियारले बताउनुभयो । उहाँका अनुसार आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update