Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम कारागारबाट भागेका १७ जना कैदिबन्दी अझै फरार 

जेन जी आन्दोलनका क्रममा रुकुम पश्चिम कारागारबाट ढोका फोडेर भागेका १७ जना कैदी बन्दी अझै फरार रहेका छन् । आन्दोलन भएको झन्डै ५ महिना पुग्न लाग्दा पनि फरार रहेका कैदी बन्दी अझै  पक्राउ पर्न सेकेका छैन । गत भदौ २४ गते साँझ जेन जी आन्दोलनको मौका पारेर ८८ जना कैदी बन्दी फरार भएका थिए । ती मध्य केहीलाई २४ गते राती नै प्रहरीले नियन्त्रणमा लिएको थियो भने केही कैदी बन्दीलाई पक्राउ गर्न समय लागेको थियो ।

जेन जी आन्दोलनका क्रममा भागेका कैदी बन्दीको खोजी जारी रहे पनि १७ जना कैदी बन्दी अझै फरार रहेको प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न मुद्दामा सजाय काटिरहेका कैदी बन्दीले निर्वाचनको समयमा नराम्रो गतिविधि गर्ने जोखिम हुने भएकाले ती व्यक्तिलाई देखेमा प्रहरी तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिन सबै वडा तथा स्थानीय तहमा अनुरोध गरिएको बताउनुभयो ।

कारागारबाट भागेका कैदी बन्दीहरूलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै सूचना जारी गरी स्वतःस्फूर्त रूपमा सम्पर्कमा आउन समेत  आग्रह गरे पनि १७ जना कैदी बन्दी सम्पर्कमा आएका छैन । फरार रहेका कैदी बन्दी लुकिछिपी बसेको थाहा पाए प्रहरीलाई १०० मा फोन गरी तत्काल खबर गर्न समेत पटक पटक अनुरोध गरिरहेको छ ।

रुकुम पश्चिमा जेन जी आन्दोलनको कुनै प्रभाव नभएकै अवस्थामा कैदी बन्दी कारागारबाटै फरार हुनुमा सुरक्षा निकायको कमजोरी भन्दै आलोचना समेत भएको थियो  । 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update