Kakhara सबैको खबर सम्पूर्ण खबर
यमुना नन्द नमुना माविमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको यमुना नन्द नमुना मावि शेरिगाउँमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक कार्यालयको आयोजनामा आज बिहान विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा ट्राफिक नियम, यसको उल्लङ्घन भए हुने कारबाही, ट्राफिक नियमको पालना, बाटो काट्दा तथा बाटोमा हिँड्दा ध्यान दिनुपर्ने कुराहरू लगायतका विषयमा जानकारी गराइएको थियो । विद्यार्थीहरूलाई जिल्ला ट्राफिक प्रहरी प्रमुख नवीन अधिकारीले ट्राफिक नियमका बारेमा जानकारी गराउनुभएको थियो । 

साथै उहाँले जिल्लामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने क्रम बढेको भन्दै यस्तो कार्य नगर्न अनुरोध गर्नुभएको छ । ट्राफिक नियमको उल्लङ्घनले सावरी दुर्घटना बढ्ने र ज्यान जान सक्ने भन्दै उहाँले सबैलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । 

त्यस्तै ट्राफिक नियमको पालना नगरे कारबाही समेत परिने उहाँले बताउनुभयो । हिजो मात्र मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ जनालाई कारबाही गरिएको उहाँले जानकारी गराउनुभयो । त्यस्तै भर्खरै जिल्लामा ट्राफिक प्रहरीको रूपमा आउनुभएका अधिकारीलाई विद्यालयले स्वागत गरेको थियो । 

दोसल्ला तथा अबिर लगाएर स्वागत गर्दै विद्यालयले उहाँलाई कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमप्रसाद देवकोटा सहित विद्यालयका शिक्षक तथा कर्मचारी, ट्राफिक प्रमुख अधिकारी तथा अन्य ट्राफिक प्रहरी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update