रुकुम पश्चिमका नयाँ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जिल्लाको शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । जिल्लाको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न भर्खरै जिल्ला आउनुभएका डिएसपी पौडेलले आज जिल्लास्थित सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा आफ्नो कार्यकालमा जिल्लाको शान्ति सुरक्षा मजबुत हुने बताउनुभयो ।
उहाँले प्रहरीको काम शान्ति सुरक्षा कायम गर्नु रहेको बताउँदै हरेक क्षेत्रको सुरक्षा व्यवस्थालाई मजबुत बनाउने बताउनुभयो । भर्खरै जिल्ला आएको र जिल्लाको सम्पूर्ण अवस्थालाई बुझेर अघि बढ्ने उहाँको भनाई छ । उहाँले जिल्लामा देखिने गरी शान्ति सुव्यवस्था कायम गराउने सञ्चारकर्मीहरूलाई बताउनुभयो । निर्वाचनको समेत समय रहेकोले निर्वाचन लक्षित सुरक्षा व्यवस्थामा पनि कमी नहुने उहाँले स्पष्ट पार्नुभयो ।
जिल्लास्थित पत्रकारहरूले भेटघाटका क्रममा दिएका सुझावलाई शिरोपर गरेर अघि बढ्ने पनि उहाँले बताउनुभयो । आफ्नो प्रहरी सङ्गठनको हालसम्मको अनुभवलाई रुकुमको सुरक्षा व्यवस्थामा प्रयोग गर्ने डिएसपी पौडेलले बताउनुभयो । भेटका क्रममा जिल्लास्थित सञ्चारकर्मीहरूले जिल्लाको वस्तुस्थितिबारे जानकारी गराउँदै विभिन्न सुझावहरू दिएका थिए ।
समग्र शान्ति सुरक्षा देखि ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धान, रोकथाम, लागु औषधको नियन्त्रण देखि निर्वाचन लक्षित सुझाव दिएका थिए । भेटघाटमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोपालप्रसाद रेग्मी सहित महासङ्घको टिम तथा जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।
उनीहरूले सल्लाह सुझावका सहित डिएसपी पौडेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।





-1759842583.jpg)