Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा ६ महिनामा ५२ जना हराए, कति परे फेला ? 
फाइल फाेटाे ।

रुकुम पश्चिमबाट ६ महिनाको अवधिमा ५२ जना व्यक्ति हराएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लाभरबाट चालु आर्थिक वर्षको साउन १ गतेदेखि पुस मसान्तसम्म ५२ जना व्यक्ति हराएका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको तथ्याङ्क अनुसार हराउनेमा महिला १४ जना, पुरुष ७ जना, बालक ५ जना बालिका २४ जना  र ज्येष्ठ नागरिक २ जना गरी कुल ५२ जना रहेका छन् ।

ती मध्ये १३ जना महिला फेला परिसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । त्यस्तै पुरुष ७, बालक ४, बालिका सबै २४ र ज्येष्ठ नागरिक १ गरी कुल ४९ जना प्रहरीको सहयोगमा खोजी गर्दा फेला  परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । १ जना महिला, १ जना बालक र १ जना ज्येष्ठ नागरिक गरी ३ जना भने अझै बेपत्ता छन् । 

ती बेपत्ता व्यक्तिको पनि खोजी भइरहेको उहाँको भनाइ छ । आफन्तले निवेदन दिएका आधारमा हराएका व्यक्तिको खोजी गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update