Kakhara सबैको खबर सम्पूर्ण खबर
जन्मदिनको अवसरमा बिरामीलाई आर्थिक सहयोग

पछिल्लो समय सामाजिक काम गरेर जन्मदिन मनाउने चलन बढ्दै गएको छ । केक काट्ने, होटेलमा तथा घुमेर वा अन्य फजुल खर्च गर्ने भन्दा मानव सेवालाई जोडेर जन्मदिन मनाउने प्रचलन बढ्दो छ । जन्मदिनको अवसरमा बेसहारा, बिरामी, गरिब तथा आर्थिक अभावका कारण पढाइबाट वञ्चित भएका बालबालिका र असहाय व्यक्तिलाई सहयोग गर्ने कार्यहरू बढ्दै गएका छन् । 

यस्तै उदाहरण मुसिकोट नगरपालिका वडा नम्बर १४ निवासी लीला केसीले प्रस्तुत गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनमा फजुल खर्च नगरी जन्मदिन मनाउनका लागि छुट्टाएको तीन हजार रुपैयाँ गरिब, विपन्न, असहाय तथा आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई पत्रकार नारायण ओली मार्फत सहयोग गर्नुभएको छ । 

उक्त रकममा पत्रकार ओलीले आफ्नो तर्फबाट दुई हजार रुपैयाँ थप गरी भिरबाट लडेर गम्भीर घाइते भई काठमाडौँस्थित न्युरो अस्पतालमा उपचाररत सानीभेरी गाउँपालिका वडा नम्बर ४ निवासी कर्णसिंह नेपालीलाई प्रदान गर्नुभएको छ ।

नेपालीको उपचारमा ठुलो रकम खर्च भइसकेको र आर्थिक अवस्था कमजोर भएकाले केही मात्रामा राहत होस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको पत्रकार ओलीले जानकारी दिनुभयो । सहयोग रकम मङ्गलवार बिरामीकी छोरी लक्ष्मी विकलाई हस्तान्तरण गरिएको हो ।
 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update