रुकुम पश्चिमको मुसिकोटमा स्थानीय तहका कर्मचारीहरूका लागि २ दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालयको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाइमा तालिम सुरु भएको हो ।
तालिममा जिल्लाका सबै स्थानीय तहका महिला तथा बालबालिका र शिक्षा शाखामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको छ । सामाजिक विकास कार्यालयका निमित्त प्रमुख ध्रुवकुमार बाँठाका अनुसार तालिममा तनाव व्यवस्थापन तथा उत्प्रेषण, भाषिक शुद्धता र ज्येष्ठ नागरिकका कानुनी अधिकार, महिला बालबालिका तथा अपाङ्गता सम्बन्धी जानकारी तथा हालको अवस्थाका बारेमा जानकारी गराइने छ ।
त्यस्तै तालिमका सहभागीहरूलाई टिप्पणी लेखन तथा अभिलेख व्यवस्थापन, समावेशीकरण, समानता तथा समता सम्बन्धी जानकारी र जिल्लामा समस्याका रूपमा देखिएका हानिकारक अभ्यास, सो को नियन्त्रण, प्रदेश तथा स्थानीय तहको दायित्व लगायतका विषयमा पनि जानकारी गराइने उहाँले बताउनुभयो ।
तालिमको सहजीकरण विभिन्न व्यक्तिहरूले गर्ने उहाँको भनाई छ । तालिमको आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै उहाँले समाज रूपान्तरणका लागि तालिम उपयोगी रहेको भन्दै तालिममा सिकेका कुराहरूलाई आ आफ्नो पालिकामा गएर कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
समाजलाई सही दिशामा डोर्याउने दायित्व सबैको भएको भन्दै सत्मार्गका लागि समाजका सबैको हातेमालो आवश्यक रहेको उहाँको भनाई छ । साथै उहाँले कर्मचारीले थप निष्ठाका साथ काम गरेमा अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो । तालिम भोलीसम्म चल्ने छ ।
तालिम उद्घाटन कार्यक्रममा जिल्ला समन्वय अधिकारी मेघराज सोनी, मुसिकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख बिनाराम खड्का, सुरक्षा निकाय, पत्रकार लगायतको उपस्थिति रहेको थियो । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन सामाजिक विकास कार्यालयकी महिला विकास निरीक्षक डिलाकुमारी न्यौपानेले गर्नुभएको थियो ।





-1759842583.jpg)