Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा १८ सय बढीलाई एचपिभि खोप लगाइने 
फाइल फाेटाे ।

रुकुम पश्चिममा १८ सय बढी बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाइने भएको छ । जिल्लामा माघ २७ गते देखि एचपिभि खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा एचपिभि खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो वर्ष जिल्लामा १८ सय ३२ जना स्कुले तथा स्कुल बाहिर रहेका बालिकाहरूलाई यो खोप लगाउने लक्ष छ। कक्षा ६ मा अध्ययनरत बालिकाहरूलाई यो खोप लगाइने छ । त्यस्तै विद्यालय बाहिर रहेका १० वर्षका बालिकालाई पनि यो खोप दिइने उहाँको भनाई छ ।

त्यस्तै अघिल्लो वर्ष खोप लिन छुटेका कक्षा ७ देखि १० सम्मका ११ देखि १४ वर्ष उमेरका तथा विद्यालय बाहिर रहेका ११ वर्ष देखि १४ वर्ष उमेर समूहका बालिकालाई पनि यो खोप लगाइने उहाँले जानकारी दिनुभयो । स्थानीय तहले खोप कार्यक्रम सञ्चालन गर्ने छन् । जिल्लाका सबै वडामा रहेका विद्यालय तथा स्वास्थ्य संस्थामा यो खोप दिइने छ ।

यो खोपबाट वञ्चित नहुन लक्षित बालिकालाई स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई रोक्न यो खोप जरुरी रहेकोले खोपबाट नछुट्न कार्यालयको अनुरोध छ । खोप कार्यक्रम ३ दिन सञ्चालन हुने बताइएको छ । आवश्यकता अनुसार यसमा हेरफेर समेत हुन सक्ने स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update