Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा निर्वाचन प्रहरीको तालिम सुरु

रुकुम पश्चिममा निर्वाचन प्रहरीको लागि आधारभुत तालिम आजबाट सुरु भएको छ । अन्तिम नतिजामा उर्णिण भएका निर्वाचन प्रहरीको लागि मुसिकोट नगरपालिका १ बराहाटाकुरामा आजबाट तालिम सुरु भएको हो । आठविसकोट नगरपालिकामा खटिने १ सय २ र चौरजहारी नगरपालिकामा खटिने १ सय ४ जना निर्वाचन प्रहरीको लागि  सम्बन्धित इलाका प्रहरी कार्यालयमा तथा ९६ जना निर्वाचन प्रहरीलाई सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म तालिम संचालन भइरहेको छ । बाँकीलाई मुसिकोट नगरपालिका १ बराहाटाकुरामा तालिम संचालन गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

तालिम १० दिनसम्म संचालन हुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन प्रहरीलाई १० दिनसम्म आधाभुत तालिम प्रदान गरिने छ । तालिम सम्पन्न पश्चात भने सम्बन्धित प्रहरी चौकीहरुमा पठाइने छ । जिल्लाको कुल कोटा ९ सय ४९ जना रहेको छ । जसमा ८ सय ५३ जना जिल्ला प्रहरी कार्यालयले परिचालन गर्ने छ भने ९६ जना सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मले परिचालन गर्ने छ । 

सरकारले निर्वाचनको सुरक्षा परियोजनका लागि ४० दिनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो । यस अघि म्यादी प्रहरी नामकरण गरिए पनि यस पटक देखि भने सरकारले नाम परिवर्तन गरी निर्वाचन प्रहरी बनाएको छ । सरकारले यसअघि नेपाल प्रहरीलाई मात्र म्यादी प्रहरी परिचालनको अधिकार दिएको थियो भने यो पटक सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी परिचालन गर्ने अधिकार पाएको छ । 

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update