रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ मा उदय युवा क्लवका अध्यक्ष कृष्णकुमार ददेलले निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्नुभएको छ । १३ नम्बर वडालाई लक्षित गरी उहाँले आजबाट विरामीहरुका लागि जिल्ला अस्पताल सल्लेसम्मको एकतर्फी सेवा निःशुल्क गर्नुभएको हो । आजदेखि लागुहुने गरी उदय युवा क्लवका अध्यक्ष ददेल सँग जेष्ठ नागरिक, प्रसुती व्यथा लागेका महिला र क वर्गका अपांगता भएका व्यक्तिहरुको लागि निशल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गरी सम्झौता भएको वडा अध्यक्ष खलबहादु खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार विरामीले एकतर्फी वडाको विभिन्न ठाउँबाट जिल्ला अस्पताल सल्लेसम्म निशुल्क सेवा पाउनेछन् । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको लागि निशुल्क एम्बुलेन्स सेवाले ठुलो सहयोग पुग्ने वडा अध्यक्ष खड्काले बताउनुभयो । सामाजिक सेवाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने उदय युवा क्लवका अध्यक्ष ददेललाई वडा कार्यालयले धन्यवाद ज्ञापन समेत गरेको छ ।
आर्थिक रुपमा कमजोर भएका परिवार तथा व्यक्तिको लागि थोरै भएपनि सहयाेग होस् भन्ने उदेश्यले आफुले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको उदय युवा क्लवका अध्यक्ष ददेलले जानकारी दिनुभयो । सामाजिक कार्यमा सक्रिय रहनुभएका ददेल संयुक्त एम्बुलेन्स चालक संघ रुकुम पश्चिमका अध्यक्ष समेत हुनुहुन्छ । वडामा निःशुल्क एम्बुलेन्स सेवा सुरु भएपछि स्थानीयबासी खुसी भएका छन् ।





-1759842583.jpg)