कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी जयराज सापकोटाले फागुन २१ गतेको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरी सक्षम रहेको बताउनुभएको छ । निरीक्षणका क्रममा रुकुम पश्चिम पुग्नुभएका सापकोटाले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।
‘तोकिएको समयमै भय रहित वातावरणमा निर्वाचन गर्न प्रहरी सक्षम छ, हामीले कर्णालीमा सोही अनुसार योजना बनाएका छौँ, मतदान स्थलको सुरक्षा देखि अन्य सुरक्षामा प्रहरी सक्षम छ, अपुग भएको अवस्थामा अन्य ठाउँहरूबाट थप फोर्स आउँछ, सबै जना ढुक्क हुनुहोस्, भय रहित निर्वाचनका लागि प्रहरी सक्षम छ, उहाँले भन्नुभयो ।
साथै उहाँले कारागारबाट भागेका कैदी बन्दी र लुटिएका हतियारबाट खासै सुरक्षा चुनौती नरहेको दाबी समेत गर्नुभयो । पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै उहाँले भन्नुभयो–‘‘कारागारबाट भागेका कैदी बन्दी देशमा छैनन्, उनीहरूको अवस्था प्रहरीले पत्ता लगाएको छ, उनीहरू नेपाल छिर्ने बित्तिकै नाकाबाट पक्राउ पर्छन्, अर्को कुरा लुटिएका हतियार मध्ये धेरै नियन्त्रणमा ल्याइसकिएको छ, नियन्त्रणमा नरहेका हतियार पनि सबै सही हालतमा छैनन् भन्ने हाम्रो अनुमान छ, यसबाट सुरक्षा चुनौती खास छैन ।’
त्यस्तै उहाँले मतदान स्थलहरूको अवस्था राम्ररी अध्ययन गरिएको र सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको पनि जानकारी गराउनुभयो । कर्णालीमा भौगोलिक चुनौती भए पनि त्यसमा सुरक्षाका दृष्टिकोणले आवश्यकता अनुसारको सुरक्षा व्यवस्थापन मिलाइएको उहाँले स्पष्ट पार्नुभयो ।
यसैबिच उहाँले निर्वाचन सबैको लागि भएको बताउँदै निर्वाचनलाई सफल पार्न राजनीतिक दल, पत्रकार तथा सबै सरोकारवाला र आम नागरिकको पनि उत्तिकै भूमिका रहेकोले सबैलाई जिम्मेवार भएर लाग्न अनुरोध पनि गर्नुभयो । सबैको हातेमालो भएमा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने र समाजमा शान्ति, सुरक्षा, अमन चयन कायम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
डिआइजी सापकोटाले अन्य शान्ति सुरक्षाका लागि पनि समाज र प्रहरीको हातेमालो आवश्यक रहेको औँल्याउँदै प्रहरीलाई सफल पार्न समाजको दायित्व रहने र प्रहरी सफल भएमा समग्र शान्ति सुरक्षा कायम हुने बताउनुभयो ।
रुकुम पश्चिम पुग्नुभएका उहाँले जिल्ला प्रहरी कार्यालयको अनुगमन सहित प्रहरी कर्मचारीहरूलाई पछिल्लो घटनाक्रम, निर्वाचन तथा अन्य शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिकाका विषयमा प्रशिक्षण दिनुका साथै निर्देशन समेत गर्नुभएको थियो । उहाँ एक साता अघि मात्र कर्णाली प्रदेशको नेतृत्व गर्न आउनुभएको हो ।





-1759842583.jpg)