कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी मुकुन्दप्रसाद रिजालले ट्राफिक व्यवस्थापन प्रत्येक नागरिकको दायित्व भएको बताउनुभएको छ । निरीक्षणका क्रममा रुकुम पश्चिम पुग्नुभएका उहाँले ट्राफिक प्रहरीले मात्र गरेर सम्भव नभएको भन्दै आम नागरिक ट्राफिक व्यवस्थापनमा जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
रुकुम पश्चिम जस्ता पहाडी जिल्लामा साँघुरा सडक, पार्किङको अभाव तथा सवारी साधनको संख्या बढ्दै जाँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको भन्दै उहाँले प्रत्येक नागरिकले सवारी नियम पालना गर्ने, सडक अनुशासन पालना गर्ने हो भने ट्राफिक व्यवस्थापनमा धेरै नै सहज हुने बताउनुभयो ।
साथै पार्किङ स्थल तोक्ने देखि अन्य व्यवस्थापनमा स्थानीय तहले सहयोग गरेमा ट्राफिक व्यवस्थापनमा अझ सहजता आउने उहाँको भनाई छ । ट्राफिक नियमको पालना ट्राफिक प्रहरीलाई देखाउन नभई आफ्नो र अरूको जिउ ज्यानको सुरक्षाको लागि भएकाले अनिवार्य ट्राफिक नियमको पालना गर्न उहाँले सबैलाई आग्रह पनि गर्नुभयो ।
ट्राफिक प्रहरी र सरोकारवाला तथा आम नागरिकको हातेमालो भयो भने ट्राफिक सचेतना बढ्ने तथा यसबाट सम्भावित जोखिम कम हुनेमा उहाँले जोड दिनुभयो ।





-1759842583.jpg)