Kakhara सबैको खबर सम्पूर्ण खबर
मोटरसाइकको ठक्करबाट विजयश्वरी बोर्डिड स्कुलका संचालक भण्डारी घाइते 

रुकुम पश्चिममा मोटरसाइकलको ठक्करबाट एक व्यक्ति घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका १३ साधनचौर स्थित मध्य पहाडी लोक मार्गमा मोटरसाइकले ठक्कर दिँदा ५२ वर्षीय हर्क भण्डारी घाइते हुनुभएको हो । 

उहाँ मुसिकोट नगरपालिका १ खलङ्गास्थित विजयश्वरी बोर्डिङ स्कुलका सञ्चालक हुनुहुन्छ । सडक पार गर्ने क्रममा मुसिकोट खलङ्गाबाट तीव्र गतिमा सानीभेरी तर्फ गइरहेको भे ५ प ९४६४ नम्बरको मोटरसाइकलले भण्डारीलाई मंगलबार दिउँसाे ३ बजेतिर ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो । 

मोटरसाइकल चालक सानीभेरी गाउँपालिका ३ खालचौरका २३ वर्षीय शशिराम चदारालाई पनि सामान्य चोट लागेको उहाँले जानकारी गराउनुभयो । भण्डारीको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भण्डारीको टाउको र शरीरका अन्य भागमा चोट लागेको बताइएको छ । 

भण्डारी मुसिकोट नगरपालिका स्तरीय चौथो नगर कप प्रतियोगिता अन्तर्गत साधनचौरमा सञ्चालित छात्रा फुटबलका लागि विद्यालयको टिम लिएर उक्त ठाउँमा जानुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update