Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा एचपिभी खोप संचालन हुँदै, कति किशोरीले पाउँदैछन् खोप  ?

रुकुम पश्चिममा पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध नियमित एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । यही माघ २७ गतेदेखि फागुन १ गतेसम्म जिल्लाको सबै पालिकामा एचपिभी खोप अभियान सञ्चालन हुने भएको हो ।

यस विषयमा आज खलङ्गामा जिल्ला खोप समन्वय समितिले संचारकर्मीहरुसँग अभिमुखीकरण कार्यक्रम आयोजना गरी जानकारी बनाएको हो । विद्यालय तहमा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर एचपिभी खोप अभियान सञ्चालन गर्न  लागिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत हरि पुनले जानकारी  दिनुभयो ।

उहाँका अनुसार नियमित  खोप कार्यक्रम अन्तर्गत जिल्ला भरका १ हजार ८ सय ५० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । जसमध्ये विद्यालयमा अध्ययनरत १ हजार ७ सय ७९ र विद्यालयको पहुँच बाहिरका ७१ गरेर कुल १८ सय ५० रहेका छन् ।

कक्षा ६ मा अध्ययनरत बालिकाहरूलाई यो खोप लगाइने छ । त्यस्तै विद्यालय बाहिर रहेका १० वर्षका बालिकालाई पनि यो खोप दिइने उहाँको भनाई छ ।

त्यस्तै अघिल्लो वर्ष खोप लिन छुटेका कक्षा ७ देखि १० सम्मका ११ देखि १४ वर्ष उमेरका तथा विद्यालय बाहिर रहेका ११ वर्ष देखि १४ वर्ष उमेर समूहका बालिकालाई पनि यो खोप लगाइने छ । एचपिभी खोप सञ्चालनका लागि जिल्लाभरका १ सय २८ विद्यालय र ७६ स्वास्थ्य केन्द्रहरूबाट खोप सञ्चालन गरिने छ ।

विद्यालयमा दिइने एचपिभी खोप कार्यक्रममा एक सय २८ जना स्वास्थ्यकर्मी खटिने  र विद्यालयमा छुट भएका किशोरीका लागि भने स्वास्थ्य संस्थाबाटै उक्त खोप दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । खोप अभियानको लक्ष्य पाठेघरको मुखको क्यान्सर रोग निवारण गर्नु हो ।

साथै खोप प्रति गलत सोचाइ राख्ने प्रवृत्ति रहेकाले त्यतातर्फ सचेत भई ढुक्कसँग खोप लगाउन पनि स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको छ । अभिमुखीकरण कार्यक्रममा एचपिभी खोपको महत्त्व, खोप कार्यक्रममा देखिएका चुनौती, लक्षण, बच्ने उपाय लगायतका विषयमा जानकारी बनाइएको थियो ।

जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी मेघराज सोनी, स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर जीवन परियार, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले गर्नुभएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update