Kakhara सबैको खबर सम्पूर्ण खबर
अर्नाकोटमा समुदाय लक्षित क्षमता विकास तालिम सम्पन्न

बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर १ अर्नाकोट क्षेत्रमा लिफ्टिङ खानेपानी तथा सरसफाइ स्तरोन्नति (वास) परियोजना अन्तर्गत समुदाय लक्षित क्षमता विकास तालिम सम्पन्न भएका छन् ।

युनिका फाउन्डेसन, नेदरल्यान्ड तथा निसिखोला गाउँपालिकाको आर्थिक सहयोगमा, कर्मफ्लाइट्स फाउन्डेसन नेपालद्वारा समन्वय गरिएको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा मार्फत सञ्चालन गरिएको हो ।

परियोजनाअन्तर्गत अर्नाकोट समुदायमा महिनावारी स्वच्छता व्यवस्थापन (एम.एच.एम), विपद् नक्साङ्कन तथा जोखिम व्यवस्थापन र आधारभूत प्राथमिक उपचार सम्बन्धी तालिम आयोजना गरिएका थिए । महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी २ दिने तालिमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कार्यालय प्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

तालिममा प्रजनन स्वास्थ्य तथा महिनावारी स्वास्थ्यसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । कार्यक्रम व्यवस्थापक कल्पना ज्ञवालीका अनुसार महिनावारीको समयमा व्यक्तिगत तथा यौनाङ्गको सरसफाइमा ध्यान नदिँदा विभिन्न सङ्क्रमण, यौनजन्य रोग, पाठेघरसम्बन्धी समस्या, आङ खस्ने तथा क्यान्सरसम्मको जोखिम छ । 

यी जोखिम न्यूनीकरण गर्न चेतना अभिवृद्धि र सुरक्षित अभ्यास प्रवर्द्धन नै तालिमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । सदरमुकामदेखि टाढा रहेको अर्नाकोट क्षेत्रमा विशेष गरी महिलाहरू सुरक्षित प्याडको अभाव र आर्थिक कठिनाइका कारण असुरक्षित टालाटुली प्रयोग गर्न बाध्य रहेको अवस्थालाई ध्यानमा राख्दै, तालिममा घरमै सुरक्षित र पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने सिप समेत सिकाइएको थियो ।

खानेपानी उपभोक्ता समिति भित्रका ३० जना महिला तथा किशोरीहरूको सहभागिता रहेको उक्त तालिममा कार्यक्रम व्यवस्थापक कल्पना ज्ञवाली, कर्मफ्लाइट्सका सहजकर्ता निथोई बिक तथा स्थानीय सहजकर्ता सपना कुँवरले सहजीकरण गर्नुभएको थियो ।

सहभागीहरूको तर्फबाट करिश्मा बिक र ममता विकले तालिम अत्यन्त प्रभावकारी भएको प्रतिक्रिया दिँदै यसले स्वास्थ्य, आत्मविश्वास र सम्मानपूर्वक जीवनयापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

यसै परियोजनाअन्तर्गत अर्नाकोट, सिन्देरी, घाम्पु, निन्नेचौर, चौर र खालबाङ क्षेत्रका २४ जना सदस्यहरूलाई लक्षित गरी २ दिने विपद् नक्साङ्कन तथा जोखिम व्यवस्थापन तालिम पनि सञ्चालन गरिएको छ ।

त्यसै गरी २२ जनालाई लक्षित ४ दिने आधारभूत प्राथमिक उपचार तालिम नेपाल सरकारबाट स्वीकृत मापदण्डअनुसार सञ्चालन गरिएको थियो । उक्त तालिममा सबै सहभागी उत्तीर्ण भएका थिए भने उत्कृष्ट सहभागी चामेली घर्ती, रेसम बिक लगायतलाई नेपाल रेडक्रस सोसाइटीद्वारा सम्मान गरिएको थियो ।

उक्त तालिमहरूमा निसिखोला गाउँपालिका वडा नम्बर २ का विद्यालय तथा समुदायका साथै ढोरपाटन नगरपालिका वडा नम्बर २, ५ र ७ अन्तर्गतका विद्यालय तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । जुन क्षेत्रहरू परियोजनाबाट प्रत्यक्ष प्रभावित छन् ।

यसैबिच, अर्नाकोट लिफ्टिङ खानेपानी तथा सरसफाइ स्तरोन्नति परियोजना औपचारिक रूपमा सुरु भएको कर्मफ्लाइट्स फाउन्डेसन नेपालका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले जानकारी दिनुभयो । सोही क्रममा खानेपानी उपभोक्ता समूहका इन्जिनियर तथा प्राविधिकहरू सहित नेपाल रेडक्रस सोसाइटी कास्की, निसिखोला गाउँपालिका र सम्बन्धित सरोकारवालाहरूको बैठक मार्फत् परियोजनाको समीक्षा गरिएको निसिखोला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कुबिर बिकेले जानकारी दिनुभयो । 

साथै, पम्प हाउससम्म राष्ट्रिय विद्युत् लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय बैठक समेत सम्पन्न भएको छ । यी सबै गतिविधिहरूले अर्नाकोट क्षेत्रमा समुदायको एकता, सशक्तीकरण, स्वास्थ्य सचेतना, विपद् तयारी क्षमता तथा दिगो लिफ्टिङ खानेपानी सेवाको सुनिश्चिततामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update