रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट १ महिना भन्दा लामो समय देखि फोहोर उठ्न सकेको छैन । नगरपालिकाले फोहोर फाल्दै आएको वडा नम्बर २ को सतिपोलेमा स्थानीले अवरोध गरेपछि एक महिना भन्दा लामो समय देखि मुसिकोटका खलङ्गा, बागबजार, शेरिगाउँ, सल्ले, सोलाबाङ लगायतका ठाउँको फोहोर उठ्न नसकेको हो ।
नगरपालिकाले पटक पटक झुक्क्याएर १३ वर्ष देखि सतिपोलेमा फोहोर फालिरहेको र त्यसले स्थानीयलाई असर गरेको भन्दै त्यस क्षेत्रका स्थानीयले गत पुस २१ गते देखि फोहोर फाल्न रोकेका छन् । उक्त समय देखि हालसम्म फोहोर उठ्न सकेको छैन । जसका कारण बजारका चोक चोकमा फोहोरको थुप्रो लागेको छ ।
त्यस्तै घर घरमा समेत फोहोर थुप्रिएर रहेको बजार वासीको गुनासो छ । एक महिना भन्दा लामो समय देखि फोहोर उठ्न नसक्दा खलङ्गा लगायतका मुख्य बजारमा जहाँ त्यहीँ फोहोर थुप्रिएर रहेको छ भने यसले दुर्गन्ध फैलिन सुरु भएको छ । त्यस्तै बजारको सुन्दरतालाई समेत कुरूप बनाइरहेको छ ।

स्थानीयले फोहोर रोकेको विषयमा नगरपालिकाले २ पटक उक्त क्षेत्रका स्थानीय सँग छलफल गरिसकेको छ । तर स्थानीय अब कुनै पनि हालतमा सतिपोलेमा फोहोर फाल्न नदिने अडानमा अडिग भएका छन् । जसका कारण मुसिकोट नगरपालिका वडा नम्बर २ मा भएको र नगरपालिकाको कार्यालयमै भएको छलफल निष्कर्ष विहीन बनेको नगर उपप्रमुख विमलकुमार पुनले जानकारी दिनुभयो ।
स्थानीय फोहोर फाल्न नदिने अडानमा अडिग भएपछि नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वैकल्पिक ठाउँको समेत खोजी गरिरहेको र अहिलेसम्म कुनै पनि ठाउँ उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो । ‘मुसिकोट २ का स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि हामीले केही समयका लागि फोहोर व्यवस्थापन गर्ने ठाउँको खोजी गरिरहेका छौँ, तर अहिलेसम्म कुनै ठाउँका लागि स्थानीय राजी भइसकेका छैनन्, हामी ठाउँकै खोजीमा छौँ,’ उहाँले भन्नुभयो ।
वडा नम्बर १ को गिलबाङ नजिकै निपाने भन्ने ठाउँमा डम्पिङ साइड निर्माणको काम चलिरहेकोले उक्त ठाउँका काम सकिँदासम्म फोहोर व्यवस्थापनका लागि ठाउँको अभाव भएको उहाँले बताउनुभयो । नगरपालिकाले निपानेको काम सकिँदासम्म सतिपोलेमै फोहोर फाल्न दिन स्थानीयलाई अनुरोध गरेको थियो । तर स्थानीयले अब देखि एक दिन पनि फोहोर फाल्न नदिने अडान लिएपछि नगरपालिका समस्यामा परेको छ ।

केही समयका लागि भन्दै नगरपालिकाले १३ वर्ष सतिपोलेमा फोहोर फालेको तर अब एक दिन पनि फोहोर फाल्न नदिने स्थानीयको अडान छ । सुरुमा उक्त जग्गा बसपार्कका लागि भनेर दिएको भए पनि नगरपालिकाले झुक्क्याएर १३ वर्षसम्म फोहोर फालेको र अब नगरपालिकाको कुनै पनि आश्वासनमा नफस्ने अड्डी स्थानीले कसेका छन् ।
जिल्लाको पुरानो नगरपालिका मुसिकोटले फोहोर व्यवस्थापनमा सुरु बाटै दीर्घकालीन काम गर्न सकेको छैन । जसका कारण मुसिकोटमा फोहोर व्यवस्थापन सबैभन्दा ठुलो चुनौती बनेको छ ।





-1759842583.jpg)