Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा निर्वाचन प्रहरीलाई ट्राफिक सचेतना 

रुकुम पश्चिममा निर्वाचन प्रहरीहरूका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा फागुन २१ गतेको निर्वाचनमा खटिने निर्वाचन प्रहरीहरूका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला सदरमुकाम मुसिकोटमा प्रशिक्षणरत निर्वाचन प्रहरीहरूलाई आज ट्राफिक नियमका बारेमा सचेत गराइएको हो । ट्राफिक नियम भनेको के हो ? यो नियम उल्लङ्घन हुने अवस्था, उल्लङ्घन भएमा हुने कारबाही, ट्राफिक नियम पालना गर्दाका फाइदा, ट्राफिक नियमको पालना लगायतका विषयमा निर्वाचन प्रहरीहरूलाई जानकारी गराइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख नवीन अधिकारीले जानकारी दिनुभयो ।

ट्राफिक नियमको पालनामा समेत निर्वाचन प्रहरीको भूमिका रहने भएकोले उनीहरूलाई ट्राफिक नियमका बारेमा सचेत गराइएको उहाँले बताउनुभयो । मुसिकोटमा प्रशिक्षणरत ५ सय बढी निर्वाचन प्रहरीहरूलाई ट्राफिक नियमका बारेमा जानकारी गराइएको उहाँको भनाई छ । बराहटाकुरामा आज जिल्ला ट्राफिक प्रहरी प्रमुख अधिकारीले निर्वाचन प्रहरीहरूलाई यस बारेमा जानकारी गराउनुभएको हो ।

त्यस्तै जिल्लामा ट्राफिक सचेतनाको अवस्था, ट्राफिक नियम के कसरी उल्लङ्घन भइरहेको छ, यसरीलाई कसरी रोक्ने र रोक्नका लागि भइरहेका प्रयासका बारेमा समेत जानकारी गराइएको थियो । ट्राफिक व्यवस्थापन पनि निर्वाचन सुरक्षा अन्तर्गत महत्त्वपूर्ण पाटो भएकोले निर्वाचन प्रहरीहरूलाई यस बारेमा सचेत बनाइएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

जिल्लामा विशेष गरी सवारी चालक अनुमति पत्र नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गति, क्षमता भन्दा बढी यात्री बोक्ने, जथाभाबी सवारी पार्किङ लगायतका समस्याहरू रहेको कार्यक्रमका क्रममा उहाँले जानकारी गराउनुभएको थियो ।। 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update