Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा एचपिभी खोप अभियान सुरु, ढुक्क भएर खाेप लगाउन अनुराेध

रुकुम पश्चिममा पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध एचपिभी खोप अभियान आजबाट सुरु भएको छ । जिल्लाका ६ वटै पालिकामा एकै पटक आजबाट खोप अभियान सुरु भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्लामा यो अभियान फागुन १ गतेसम्म सञ्चालन हुने छ । 

जिल्लाका सबै विद्यालय तथा स्वास्थ्य संस्थाबाट खोप दिइने स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । जिल्लाभरका १ सय २८ विद्यालय र ७६ स्वास्थ्य केन्द्रहरूमा खोप अभियान सुरु भएको उहाँले बताउनुभयो । जिल्लामा यो वर्ष १ हजार ८ सय ५० बालिका तथा किशोरीलाई यो खोप दिने लक्ष राखिएको उहाँले बताउनुभयो । 

जसमा विद्यालयमा रहेका र विद्यालय बाहिर रहेका समेत बालिका तथा किशोरी रहने छन् । विद्यालयमा अध्ययनरत १ हजार ७ सय ७९ र विद्यालयको पहुँच बाहिरका ७१ जना बालिका तथा किशोरीलाई खोप दिन लागिएको खड्काले बताउनुभयो । उहाँका अनुसार मुख्य गरी कक्षा ६ मा अध्ययनरत बालिकाहरूलाई यो खोप दिइने छ । त्यस्तै विद्यालय बाहिर रहेका १० वर्षका बालिकालाई पनि यो खोप दिइने उहाँको भनाई छ ।

hpv-1770720765.jpeg
त्यस्तै अघिल्लो वर्ष खोप लिन छुटेका कक्षा ७ देखि १० सम्मका ११ देखि १४ वर्ष उमेरका तथा विद्यालय बाहिर रहेका ११ वर्ष देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई पनि यो खोप लगाइने छ । विद्यालयमा खोप कार्यक्रमका लागि एक सय २८ जना स्वास्थ्यकर्मी खटिने छन् भने विद्यालयमा छुटेका र विद्यालय बाहिर रहेका बालिका तथा किशोरीका लागि भने स्वास्थ्य संस्थामा खोप दिइने बताइएको छ । 

यो खोप खोप अभियानको लक्ष्य पाठेघरको मुखको क्यान्सर रोग निवारण गर्नु रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यो खोप लगाएमा पाठेघरको मुखको क्यान्सर नहुने भएकोले लक्षित सबै बालिबा तथा किशोरीलाई खोप लगाउन कार्यालयले आग्रह गरेको छ । यसमा गम्भीर हुन विद्यालय तथा अभिभावकहरूलाई कार्यालयको अनुरोध छ । कोही पनि लक्षित बालिका तथा किशोरी यो कार्यक्रमबाट नछुट्ने गरी समेट्नका लागि सहयोग गर्न कार्यालयले सबै पक्षलाई अनुरोध गरेको हो ।

साथै खोप प्रति गलत सोचाइ राख्ने प्रवृत्ति रहेकाले यसलाई चिर्न पनि सबै पक्षलाई स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर जीवन परियारले अनुरोध गर्नुभयो । 

hpv-1770720760.jpg
hpv-rukum-1770720809.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update