Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा निर्वाचन प्रहरीको प्रशिक्षण सम्पन्न, सशस्त्रकाे भोली सकिने 

रुकुम पश्चिममा निर्वाचन प्रहरीको प्रशिक्षण सम्पन्न भएको छ । जिल्लामा परिचालन हुने निर्वाचन प्रहरीको प्रशिक्षण आज सम्पन्न भएको हो । सशस्त्र प्रहरी बल तर्फको प्रशिक्षण भने भोली सकिने छ । तर नेपाल प्रहरीले भने निर्वाचन प्रहरीको प्रशिक्षण सम्पन्न गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार फागुन २१ गतेको निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको प्रशिक्षण आज सकिएको हो । प्रहरीले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गा सहित इलाका प्रहरी कार्यालय चौरजहारी र आठबिसकोटमा प्रशिक्षण चलाएको थियो । 

माघ १८ गतेबाट सुरु भएको प्रशिक्षण आज सकिएको र निर्वाचन प्रहरीलाई विभिन्न प्रहरी युनिटमा परिचालन गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले यस पटकको निर्वाचनका लागि ८ सय ५३ जना निर्वाचन प्रहरी परिचालन गर्दै छ । उक्त सबै निर्वाचन प्रहरीलाई प्रशिक्षण पश्चात् इलाका, चौकी लगायतका प्रहरी युनिटमा खटाइएको उहाँले बताउनुभयो । 

हाल प्रहरीसँग शान्ति सुरक्षामा खटिने निर्वाचन प्रहरी निर्वाचनको क्रममा प्रहरी सँगै प्रत्येक मतदान केन्द्रसम्मै परिचालन हुने सूचना अधिकारी प्रहरी निरीक्षक पुनले जानकारी गराउनुभयो । निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीका लागि सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण गराइएको उहाँले बताउनुभयो । 

यस्तै सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मले भने निर्वाचन प्रहरीका लागि प्रशिक्षण भोली सकिने जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माका अनुसार विपत् व्यवस्थापन सम्बन्धी प्रशिक्षणका लागि एक दिन थप भएकोले भोलीसम्म प्रशिक्षण सञ्चालन हुने छ । सशस्त्र प्रहरीले जिल्लामा ९६ जना निर्वाचन प्रहरी परिचालन गर्दै छ । 

कोटा अनुसार भर्ना भएका निर्वाचन प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले छुट्टा छुट्टै प्रशिक्षण सञ्चालन गरेका हुन् । जिल्लामा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ९ सय ४९ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । जसमा प्रहरीले ८ सय ५३ जना र सशस्त्रले ९६ जना परिचालन गर्ने छ ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update