रुकुम पश्चिमको एक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १२ बैरागीठाँटीमा घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनुभएका प्रकाश सुवेदीले आफूले अध्ययन गरेको वडा नम्बर १२ काँसपोखरीमा रहेको जनकल्याण माविमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
भूतपूर्व विद्यार्थी सुवेदीले ३ लाख ३ हजार ३ सय ३ रुपैयाँको अक्षय कोष स्थापना गरेको विद्यालयले जनाएको छ । साथै उहाँले जन्मदिनको अवसरमा अक्षयकोष बाहेक विद्यालयलाई नगद २० हजार सहयोग गर्नुभएको छ । साथै विद्यालयमा अध्ययनरत उत्कृष्ट, जेहनदार, अनुशासित, असहाय एवं निम्न आय भएका १० जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण समेत गरिएको छ ।

अक्षयकोष स्थापना गर्ने सुवेदीलाई विद्यालयले धन्यवाद समेत ज्ञापन गरेको छ । एक कार्यक्रमका बिच छात्रवृत्ति वितरण र अक्षयकोष स्थापना गरिएको हो । लालबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा अक्षयकोषका संरक्षक सत्यप्रसाद सुवेदी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रधानाध्यापक रामप्रसाद ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन मनमोहन ओलीले गरेको शिक्षक शिवप्रसाद ओलीले जानकारी दिनुभयो ।





-1759842583.jpg)