रुकुम पश्चिममा एक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा बुद्ध भूमि मानव सेवा आश्रमलाई सहयोग गरेको छन् । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ६ छहरा घर भई हाल अमेरिकामा रहनुभएका मनराज देवकोटाले मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको आश्रमलाई सहयोग गर्नुभएको हो ।
उहाँले पत्रकार नारायण ओली मार्फत आश्रमलाई खाद्यान्न र फलफूल सहयोग गर्नुभएको हो । पत्रकार ओलीका अनुसार मनराजले जन्मदिनको अवसरमा एक बोरा चामल, एक बोरा दाल, स्याउ र केरा सहयोग गर्नुभएको हो । आश्रममै पुगेर मनराजकी बहिनी मनिषा देवकोटाले बुद्ध भूमि मानव सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीलाई उक्त सामान हस्तान्तरण गर्नुभयो ।
आश्रममा रहेका व्यक्तिहरूको सहजताको लागि जन्मदिनमा हुने अन्य खर्चलाई कटाएर खाद्यान्न र फलफूल सहयोग गरेको देवकोटाले बताउनुभयो । जन्मदिनको अवसरमा सहयोग गर्ने देवकोटालाई आश्रमले धन्यवाद दिएको छ ।
हाल आश्रमलाई विभिन्न व्यक्तिहरूले जन्मदिन लगायतका शुभ कार्यमा सहयोग गर्दै आइरहेका छन् । जसबाट आश्रम सञ्चालनमा सहजता भइरहेको अध्यक्ष जैसीले बताउनुभयो । उहाँका अनुसार हाल आश्रममा १ बालक सहित ११ जना संरक्षण विहीनहरू आश्रय लिएर बसिरहेका छन् ।
सडक मानवका रूपमा रहेका संरक्षण विहीनहरूलाई उद्धार गरेर आश्रममा राख्ने गरिएको छ । परिवार रहेकाहरूलाई भने आश्रमले पारिवारिक पुनर्मिलन समेत गराइरहेको उहाँले बताउनुभयो । आश्रमको भवन निर्माणको प्रक्रिया समेत जारी रहेको जैसीले बताउनुभयो ।
सबैको सहयोगमा भवन निर्माण गर्न सकियो भने एउटा कोष निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । यसका लागि पनि सहयोग गर्न अध्यक्ष जैसीले सबैलाई आग्रह गर्नुभएको छ ।





-1759842583.jpg)