रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ निपानेमा निर्माणाधीन डम्पिङ साइडको निर्माण कार्य तत्काल रोक्न माग गरिएको छ । लक्ष्मी मावि कैलदेउकाे पूर्व विद्यार्थी सङ्घले तत्कालै निर्माण कार्य रोक्न माग गरेको हो ।
पटक-पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै स्थानीय बासिन्दाको सहमति बिना जबरजस्ती रूपमा निर्माण कार्य अघि बढाइएको र निर्माण कार्यलाई निरन्तरता दिएको देखिएकोले तत्काल निर्माण कार्य रोक्न माग गरिएको छ ।
विभिन्न मिडिया मार्फत मुसिकोट नगरपालिका वडा नम्बर १ निपाने क्षेत्रमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरी आउँदो असार महिनादेखि फोहोर विसर्जन गर्ने तयारी गरिएको भन्ने जानकारी भएको र यस विषयप्रति हाम्रो लक्ष्मी मा वि भूतपूर्व विद्यार्थी सङ्घले गम्भीर आपत्ति व्यक्त गर्दछ, तत्काल निर्माण कार्य रोक्न माग गर्दछौँ, सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो कार्य नियमसम्मत नभएको पनि सङ्घले जनाएको छ । वातावरण संरक्षण ऐन २०७६, फोहोर मैला व्यवस्थापन ऐन २०६८ तथा सम्बन्धित नियमावलीहरू अन्तर्गत वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) र सार्वजनिक सुनुवाइ जस्ता अनिवार्य कानुनी प्रक्रिया पूरा गरेर मात्र यस्ता संरचना निर्माण गर्नुपर्ने प्रावधान रहेकोमा त्यस्तो प्रक्रिया पूरा नगरेको सङ्घले जनाएको छ ।
दिगो विकासका तीन स्तम्भ: सामाजिक विकास, आर्थिक वृद्धि र वातावरण संरक्षण लाई बेवास्ता गर्दै गरिएको यो कार्य जनअधिकारमाथिको हस्तक्षेप भएको सङ्घले उल्लेख गरेको छ ।
सङ्घले निपाने क्षेत्रमा निर्माण भइरहेको फोहोर मैला व्यवस्थापन केन्द्रको कार्य तत्काल बन्द गरी, आवश्यक वातावरणीय अध्ययन, सार्वजनिक परामर्श तथा कानुनी प्रक्रिया पूरा गरेर मात्र वैकल्पिक उपयुक्त स्थानमा निर्माण कार्य अगाडि बढाउन माग गर्दै अन्यथा कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी सहित दिएको छ ।






-1759842583.jpg)