Kakhara सबैको खबर सम्पूर्ण खबर
एसइईको नतिजा सुधार गर्ने रुकुम पश्चिमका प्रअहरुको प्रतिबद्धता 

रुकुम पश्चिमका प्रधानाध्यापकहरूले आगामी वर्षको एसइई परीक्षाको नतिजा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले मुसिकोटको शेरिगाउमामा आयोजना गरेको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माध्यमिक तहका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया तथा क्षमता विकास कार्यक्रममा सहभागी प्रअहरुले एसइईको नतिजा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् ।

विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने, विद्यार्थीको पठन शैलीलाई समयानुकूल बनाउने, पठन पाठनमा प्रविधिको प्रयोग, परीक्षामा कडाइ गर्ने, विद्यालयको समग्र व्यवस्थापनमा सुधार गरी आगामी वर्ष एसइई परीक्षाको नतिजा सुधार गर्ने प्रअहरुले प्रतिबद्धता जनाएको शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक माधवी पुनले जानकारी दिनुभयो । 

समग्र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आज एक दिने क्षमता विकास कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्लाका ८२ वटा मावि मध्ये ७६ वटा माविका प्रअहरुको उपस्थिति रहेको उहाँले बताउनुभयो । कार्यक्रममा समग्र शैक्षिक गुणस्तर कसरी अभिवृद्धि गर्न सकिन्छ भनेर विभिन्न विषयमा सहजीकरण गरिएको उहाँले बताउनुभयो । 

head-sir-1771416667.jpg

कार्यक्रमको सहजीकरण मुसिकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनाराम खड्का, शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक द्वय मानबहादुर कुमाल र जमुना भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा सहभागी प्रअहरुले आफ्नो विद्यालयको शैक्षिक वातावरण लगायतका बारेमा जानकारी समेत गराएका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विकले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रअहरुको भूमिका अहम् हुने भएकाले कुशलतापूर्वक प्रअले विद्यालयको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । समानुकुल क्षमता विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने भन्दै उहाँले कार्यक्रममा सिकेका कुराहरू विद्यालयमा गएर अन्य शिक्षक कर्मचारीलाई शेयर गर्न तथा लागु गर्न आग्रह गर्नुभयो । 

शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक माधवी पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख विकको प्रमुख र जिल्ला समन्वय अधिकारी मेघराज सोनीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा शिक्षकका सङ्घ सङ्गठनका प्रमुखहरूको समेत आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्राविधिक सहायक मानबहादुर कुमालले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update