Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रुकुम पश्चिमको १९ औँ जिल्ला परिषद् सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रुकुम पश्चिमको १९ औँ जिल्ला परिषद् सम्पन्न भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ को मदन आश्रित स्मृति भवन बागबजारमा सङ्गठनको जिल्ला परिषद् सम्पन्न भएको हो । परिषद्बाट हालसम्मको समीक्षाका साथै आगामी योजना पास गरिएको सङ्गठनले जनाएको छ । 

त्यस्तै परिषद्ले आर्थिक, साङ्गठनिक तथा समसामयिक प्रतिवेदन समेत पास गरेको सङ्गठनका केन्द्रीय प्रतिनिधि लोकबहादुर केसीले जानकारी दिनुभयो । त्यस्तै सङ्गठनले तयार पारेको शिक्षक आवाज ऐतिहासिक स्मारिकाको विमोचन समेत गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि सङ्गठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विन्दुर केसी, नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा र नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीका संयुक्त प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले संयुक्त रूपमा स्मारिकाको विमोचन गर्नुभएको हो । 

सङ्गठनका जिल्ला अध्यक्ष यामराज ओलीको अध्यक्षतामा भएको कार्यक्रममा सङ्गठनका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । यसैबिच सङ्गठनले पार्टीका जिल्ला अध्यक्ष देवकोटा र प्रतिनिधि सभा सदस्यका उम्मेदवार शर्मालाई माग पत्र समेत बुझाएको छ । 

विशेष गरी पछिल्लो पटक भएको आन्दोलन पश्चात् सरकार र शिक्षक महासङ्घका बिचमा भएको सम्झौता अनुसार शिक्षा ऐन ल्याउन माग गरिएको हो भने माग पत्रमा शिक्षकका विभिन्न पेसागत समस्या लगायतका विषय समेटिएको केन्द्रीय प्रतिनिधि केसीले बताउनुभयो । 

माग पत्र बुझ्दै उम्मेदवार शर्माले सङ्गठनले उठाएका माग प्रति आफू गम्भीर रहेको र यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रमको सञ्चालन सङ्गठनका जिल्ला सल्लाहकार समिति सदस्य टोपबहादुर हमालले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update