Kakhara सबैको खबर सम्पूर्ण खबर
शिक्षकहरू समाजका पथप्रदर्शक हुनः उम्मेदवार शर्मा  

प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार जनार्दन शर्मा प्रभाकरले शिक्षण पेसा समाजको सबैभन्दा सम्मानित पेसा रहेको बताउनुभएको छ । मुसिकोट ५ बागबजारमा अवस्थित मदन–आश्रित स्मृति भवनमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रुकुम पश्चिमको १९ औँ जिल्ला परिषद्लाई सम्बोधन गर्दै उहाँले शिक्षण पेसा सबैभन्दा सम्मानित पेसा भएको बताउनुभयो । 

राष्ट्रका लागि आवश्यक हरेक खालका जनशक्ति उत्पादन गर्ने शिक्षण पेसा सबैभन्दा सम्मानित पेसा रहेको भन्दै उहाँले शिक्षकहरू समाजका पथप्रदर्शक रहेको बताउनुभयो । ‘शिक्षकहरूले जस्तो सुकै परिस्थितिमा पनि आफ्नो पेसागत जिम्मेवारी पूरा गर्नुभएको छ, नेपालका हरेक कालखण्डमा शिक्षकहरूको योगदान अहम् छ, चाहे जनयुद्ध होस, चाहे देशमा चलेका हरेक आन्दोलन होस त्यसमा शिक्षकहरूले सहयोग नगरेको भए ती आन्दोलन सफल हुने थिएनन्,’ उहाँले भन्नुभयो ।

तर तीनै शिक्षकहरूलाई राज्यले भने उपेक्षा गरेको उहाँले बताउनुभयो । समाजका लागि लडेका शिक्षकहरू बेला बेला आफ्नै लागि लड्नुपर्ने अवस्था आएको भन्दै राज्यले शिक्षकलाई सम्मानित व्यवहार गर्न नसकेको उहाँको गुनासो थियो । आफूले सरकारमा हुँदा होस वा सांसदको मात्र भूमिकामा रहँदा होस सधैँ शिक्षकको हितमा काम गरेको र आवाज उठाएको उहाँले बताउनुभयो । 

आफू अर्थमन्त्री हुँदा कर्मचारीसँगै शिक्षकहरूको तलब वृद्धि देखि स्थानीय भत्ताको व्यवस्थापन गर्ने काम गरेको स्मरण गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका शर्माले आफू सधैँ शिक्षकहरूको साथमा रहेको र शिक्षकका समस्याप्रति गम्भीर रहेको बताउनुभयो । पछिल्लो पटक शिक्षा ऐनको माग गर्दै आन्दोलनमा रहेका शिक्षकहरूको आन्दोलनमा पनि आफू प्रत्यक्ष रूपमा समेटिएको भन्दै शिक्षकले उठाएका माग सहितको शिक्षा ऐनका लागि पटक पटक संसद्मा आवाज उठाएको उहाँले स्मरण गराउनुभयो । 

आफूले अबका दिनमा समेत शिक्षकहरूले उठाएका माग पूरा गर्न निरन्तर खबरदारी र जिम्मेवारी पाए सम्मको योगदान गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले पछिल्लो पटक शिक्षक र सरकारका बिचमा भएको सम्झौता अनुसार शिक्षा ऐन ल्याउन पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । सङ्गठनले उहाँलाई शिक्षकका विभिन्न समस्या सहितको माग पत्र समेत बुझाएको छ । यी माग पुरा गर्न लागिपर्ने उहाँको प्रतिबद्धता थियो ।

साथै उहाँले समृद्ध र समुन्नत राष्ट्र निर्माणमा शिक्षकहरूको अहम् भूमिका रहेको भन्दै यसतर्फ लाग्न आग्रह पनि गर्नुभयो ।
 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update